हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

म्याग्दी विकास युनेस्को केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा रघुगंगा गाउँपालिका-२,भगवतीस्थित मुक्तिथाम माविमा आयोजित सामाजिक कुरीति बिरुद्धको अभियान कार्यक्रममा समुदायमा हुने हरेक गलत क्रियाकलाप विरुद्ध विद्यार्थीको अग्रसरता आवश्यकता रहेको बताइएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्घिक, हिंसा, बाल विवाह, दाईजो प्रथा, जातिय भेदभाव, मानव बेचविखन तथा ओसारपोसार लगायतका हानिकारक अभ्यासहरुको न्युनिकरणका अभियानहरु प्रभावकारी भइरहेको र यसलाई समुदायस्तरमा निरन्तरताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियान्ता मुक्ति ढुंगाना, दलित अभियान्ता याम किसान, म्याग्दी विकास युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीले सहजीकरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृत भण्डारीले समाजमा सामाजिक विभेद र हानिकारक सामाजिक मान्यताहरुलाई विस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ टेकबहादुर केसी, सञ्चालन म्याग्दी विकास युनेस्को केन्द्रका हरिकृष्ण आचार्यले गरेका थिए । यसैबीच धवलागिरी गाउँपालिकाको वडा नं ३ मुना र वडा नं ४ मुदी समेत कार्यक्रम गरिएको थियो ।

Leave a Reply