म्याग्दीका दुर्गम विद्यालयमा घोडा र खच्चडमार्फत ढुवानी गरेर शैक्षिक सत्र २०८१ सालको लागि नयाँ पाठ्यपुस्तकहरु लगिएकाे छ । जिल्लाको दुर्गम क्षेत्र गूर्जामा सञ्चालित विद्यालयमा घोडा, खच्चडमार्फत सरकारी पाठ्यपुस्तक पुर्याइएको हो ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा रहेको गूर्जाको जनकल्याण माध्यमिक विद्यालयमा सरकारी पाठ्यपुस्तकहरु घोडा र खच्चडबाट ढुवानी गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । दुर्गमका विद्यालयलाई पहिलो प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानी गरिएको थियो ।

धवलागिरि गाउँपालिका–७, सिबाङसम्म सवारीसाधन र त्यहाँबाट १ नम्बर वडा गूर्जामा घोडा र खच्चडमार्फत नयाँ पाठ्यपुस्तक पु¥याइएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा रहेका विद्यालयहरुलाई पहिलो प्राथमिकता दिएर शैक्षिक सत्र २०८१ सालको नयाँ पाठ्यपुस्तकहरु पु¥याइएको हो । सडक र यातायात सुविधा नपुगेका दुर्गमका विद्यालयमा घोडा, खच्चडमार्फत नयाँ पाठ्यपुस्तक ढुवानी गरिएको विद्यालयले जनाएका छन् ।

विगतका वर्षमा जस्तै यसवर्ष पनि गूर्जामा घोडा र खच्चडलाई पाठ्यपुस्तक बोकाएर लगिएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । घोडा, खच्चडमार्फत चालु शैक्षिक सत्रको नयाँ पाठ्यपुस्तकहरु ढुवानी गरी विद्यार्थीलाई वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको मावि, आधारभूत, मदरसा, संस्कृत र उज्यालो वैकल्पिकसहित अधिकांश विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म जिल्लाको झण्डै ९८ प्रतिशत विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

स्टेशनरी व्यवसायी महासंघले जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखरासँगको समन्वयमा जिल्लामा पुस्तकहरु खरिद गरेर विद्यालयहरुमा पठाएको छ । म्याग्दीमा पुस्तक व्यवसायीहरुको सहकार्यमा एक करोड रुपैयाँको लागतमा पाठ्यपुस्तक खरिद गरी शैक्षिक सत्र सुरु हुनुपूर्व नै शतप्रतिशत पाठ्यपुस्तकहरुको सबै सेट पठाइसकिएको छ । महासंघ म्याग्दीले जिल्लामा सबै पालिकाको केन्द्रसम्म पाठ्यपुस्तक ढुवानीको व्यवस्था गरेको थियो ।

विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तकको अभाव हुने गरेकोमा यसवर्ष भने सरकारले समयमै सबै विद्यार्थीहरुको हात हातमा नयाँ पाठ्यपुस्तक पु¥याएको छ । समयमै पाठ्यपुस्तक उपलब्ध भएपछि अध्ययन, अध्यापनको कार्यमा सहज हुनुका साथै शैक्षिक गुणस्तर समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्ष तय गरेको ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित अहिले विद्यालयहरुले धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् । आउँदो १५ गतेसम्मका लागि यस वर्षको विद्यार्थी भर्ना अभियान लागि मिति तोकिएको छ ।

Leave a Reply