म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो ।

सूचना केन्द्रलाई प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड स्थापना र कोसेली घर सञ्चालनका लागि उद्योग तथा पर्यटन प्रर्वद्धनसँग सम्बन्धी कार्यक्रम मार्फत सहयोगका लागि अपेक्षा सहित प्रस्ताव बुझाएको सूचना केन्द्रका संयोजक रहेका म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

सचिव गुरुङले पर्यटन प्रर्वद्धनका लागि निजी क्षेत्रबाट भएको सकारात्मक प्रयासमा मन्त्रालयले साथ दिने प्रतिवद्धता जनाउनुभयो । सचिव गुरुङ, उपसचिव रामप्रसाद आचार्य, योजना अधिकृत विमल गौतम लगायतले सूचना केन्द्रको अवलोकन समेत गर्नुभएको थियो ।

म्याग्दीमा भित्र्ने पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा वैशाख १ गतेदेखि सुचना केन्द्र सञ्चालन गरिएको थियो । म्याग्दी भ्रमण वर्षको अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि वि.स. २०७७ देखि बन्द भएको थियो । ३ वर्षपछि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी म्याग्दी उद्योग वाणिज्य संघले राखेको छ ।

सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरुको बिक्री कक्ष सहितको कोशेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको संघका प्रथम उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो । म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजिवन, संस्कृति, रहनसहन झल्कने तस्विर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ । कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजिकरण, समन्वय गर्नेछन् ।

Leave a Reply