वनैभरि दुलहीझैं सिँगारिएको गुराँसे बैंस फक्रँदो छ। जसको अपूर्व जवानी हेरिदिने देशीविदेशी असङ्ख्य आँखा ओइरिएका छन्। हेरेर मात्र कहाँ पुग्नु? बैंसालु गुराँसे थुङ्गा एकाएक कलकलाउँदैका केटी÷तरुनीका चुल्ठीमा सजिने अवसर पाएका छन्। तिनको सौन्दर्य निखारिदिएका छन्, शिरैमा शिरफूल बनेर।

परपरसम्म फैलिएको लालीगुराँसको जंगलले सबैका ओठमा पत्याइनसक्ने खुसियालीको मुस्कान छरेको छ। तनमनभरि उल्लास र उमंगको रंग भरेको छ। बालबच्चाको जस्तो मुहारमा जलप पोतिदिएको छ, ताजापनको। सिमलको भुवाजस्तो हलुङ्गा बनेका आगन्तुकहरू स्वतन्त्र चराजस्तो फुरुङ्ग बनेका छन्।

पाँचै ज्ञानेन्द्रीयहरूको प्रभाव शरीरमा सिधा पर्छ। यतिबेला आँखाका निम्ति पौष्टिक आहाररूपी थरीथरीका रङका गुराँसे वन बनेका छन्। गुराँसे जंगलको कतिसम्म प्रभाव छ भने जस्तोसुकै पाषाण हृदय पनि यसको समीपमा पग्लन्छ। कोही आनन्दमा आफैंलाई भुलेर भावुक बनेका छन्।

कोही मनमोहक/नमिच्छिने दृश्यपानमा दङ्ग देखिन्छन्। कोही त खुसीले पागलसरी चिच्याउँछन्। आकाशबाट सूचनाबिनै झर्ने झरीजस्तै एकाएक हर्षका आँसु झार्छन् कोही।

खासगरी यस्तो बेला खुसीका अविस्मरणीय क्षणलाई क्यामरामा कैद गर्न चाहन्छन् प्रायः सबै। सम्भवतः कैद गरिएका फोटा वा भिडियो आगामी दिनमा सुखद सम्झना बनिदिन्छ र भरिदिन्छ शरीरमा छुट्टै रोमाञ्चकता।

लालीगुराँस फुल्दा असली प्रकृति हाँस्छ। विपुल वैभव नाच्छ। वनमा फुल्ने गुराँसको बान्की गमला र बगैंचामा फुलाइएको फूलभन्दा कैयौं गुना बढी खुल्छ। अविदित बोल्ने गुराँसजस्तो वनफूलमा त चरी नै चिर्बिराउँछ। त्यसै कहाँ भनिएको हो र? वनेलु उद्यान भगवान्को भवन हो। जहाँ ब्रह्मको वास हुन्छ।

नेपालको राष्ट्रिय फूल लालीगुराँसबाट अनेक थरीका औषधी बनाइन्छ। उच्च पहाडी तथा हिमाली भेग (४–१० हजार फिटसम्मको उचाइ)मा पाइने गुराँस सुकेपछिको धुलो मसला बनाउन पनि प्रयोग गरिन्छ।

नेपाललाई चिनाउने बहुआयामिक महत्त्वको लालीगुराँस अन्नपूर्ण क्षेत्रबाहेक दामन–सिमभन्ज्याङ, बागलुङ, म्याग्दी, लमजुङ, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, मुगु, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, बैतडीलगायतका ४३ जिल्लामा यो वर्ष पनि ढकमक्क फक्रेका छन्। झन्डै ३२ प्रजातिका गुराँसले सौन्दर्य छरेका छन्।

पहिले वैशाख लागेपछि मात्र फुल्थे अन्नपूर्ण क्षेत्रमा यी राताम्य लालीगुराँस। अहिले भने विश्व तापमानका कारण चैतको सुरु मै फुलेर वैशाख पहिलो हप्तामा त लगभग निख्रन्छन्। अरू जिल्लामा पनि विश्व ऊष्णीकरणको प्रभाव उस्तै छ।

Leave a Reply