उमेरले १ सय बर्ष पार गर्नुभएकी म्याग्दीको मंगला गाउँपालिका–३,पखेर बरंजाकी कला रोकाको ढाडमा दुखाइ महसुस भएपछि शुक्रबार उपचारका लागि बेनी अस्पतालमा आउनुभयो। नातिनी शान्ति रोकासँग ढाड र खुट्टामा दुखेपछि अस्पतालमा आउनुभएकी बृद्धा रोका फर्किने बेलामा ओपिडीबाट ट्याक्सी पार्किङ गरेको ठाउँसम्म आँफै हिँडेर जानुभयो ।

अस्पतालमा चिकित्सकले दुखाई कम गर्ने औषधि दिएपछि निको भएको महसुस गर्नुभएकी रोकाले घरमा पनि सामान्य घरायसी काम नियमित गर्नुहुन्छ ।  पूरै एक शताब्दीको अवधिमा बृद्धा रोकालाई अहिलेसम्म नियमित अर्काको सहायताले खाना खुवाउने, नुहाइदिन परेको छैन भने घरायसी काममा समेत परिवारका सदस्यसँगै सहभागी हुनुहुन्छ ।

भगवानले निधारमा लेखेकोलाई विश्वास गर्ने बताउने बृद्धा रोकाले बिरामी हुदाँ औषधीको खोजी गर्ने गरेकाले अहिलेसम्म बाँचेको बताउनुहुन्छ ।

‘घरायसी काममा पनि सघाउनुहुन्छ, सकेसम्म आफ्नो काम आफैं गर्नुहुन्छ’ बृद्धा रोकाकी नातिनी शान्ति रोकाले भन्नुभयो । खेतबारीबाट ल्याएको अन्न भित्राउन सघाउने, सामान्य घरायसी काममा समेत खात खाली नराख्ने बानी रहेको उहाँले बताउनुभयो । ‘बिरामी भएपछि औषधि उपचार खोज्नुहुन्छ,सकेको बेला अरूलाई मद्दत गर्न रुचाउनुहुन्छ,आफूले माया पाएको महसुस गर्दा निकै खुसी हुनुहुन्छ’ नातिनी शान्तिले भन्नुभयो ।

१ सय बर्ष पुग्नुभएकी आमाको हेरचाह गर्न अहिलेसम्म सहज रहेको र भविस्यमा पनि आमालाई कुनै समस्या हुन नदिने बताउँदै अहिलेसम्म हजुरआमाको फुर्तिलोपन देखेर अपार हर्ष लाग्ने गरेको शान्तिको भनाई छ । बृद्धा रोकाको एक छोरा दुई छोरी हुनुहुन्छ ।

Leave a Reply