पर्वतको जलजला गाउँपालिका–२,मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता वितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। बेनी नगरपालिका-९,गलेश्वरदेखि पारीपट्टी दह गाउँको एकान्तमा रहेको घरमा गत चैत्र १९ गते राति सोमबार घरभित्र सुतिरहेको अवस्थामा ६९ वर्षका सूर्यबहादुर जिसी र श्रीमती ६७ वर्षीया गमला जिसीको हत्या भएको थियो ।

घटना भएको चार दिनपछि गत बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । घटनाको ९ दिन वितिसक्दा समेत अझै अपराधीको पहिचानमा सकस भइरहेको छ । हत्या कसले, किन ग¥यो भन्ने प्रहरीले रहस्य भने खुल्न सकेको छैन। निर्ममतापूर्वक हत्या गरिएको दम्पत्तीका हत्याराको खोजीमा प्रहरीको विज्ञ टोली सहित घटनाको भोलीपल्ट नै अनुसन्धान तीव्र बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसाल सहितको टोलीले अनुसन्धानका लागि घटनाको भोलीपल्टदेखि घटनास्थल आसपास र म्याग्दी क्षेत्रमा बसेर घटनाको अनुसन्धान भइरहेपनि कुनै ’क्लु’ फेला पर्न सकेको छैन। हत्यामा संलग्नताको आशंकामा प्रहरीले परिवारका सदस्यदेखि छिमेकी,आफन्त, सडक,जलविद्युत लगायत मजदुरी गर्न आउने गरी करिब ४ सयभन्दा बढीसँग बयान लिएको छ ।

‘अनुसन्धानको धेरैजसो पाटो केलाइरहेका छौ,अनुसन्धान निकै जटिल छ तर पनि हत्यारा पत्ता लगाउन प्रयत्नशील छौ प्रनाउ भुसालले भने । उनले हत्यारालाई पक्राउ गरी कानुनको कठघरामा उभ्याएरै छोड्न सम्पूर्ण शक्ती परिचालन गरिएको बताए।

अपराधीले घटनास्थलबाट उम्किन सबै प्रमाण नष्ट गरेका कारण छानविनमा कठिनाई भइरहेको भएपनि जहाँ जुनसुकै भएपनि त्यान्द्रो समाउँदै पक्राउ गरेरै छोड्ने बताए । ‘छिट्टै रिजल्ट आउने गरी काम गरिरहेका छौ, अपराधि चलाख देखिन्छ’ प्रनाउ भुषालले भने । घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ठूलो जनशक्ती परिचालन गरिएको छ ।

प्रहरीले अनुसन्धानमा सहज हुने गरी आवश्यकता अनुसार आफन्तलाई समेत पटकपटक बोलाएर सोधपुछ गरिरहेको छ। हत्याकाण्डको विषयमा छानबिन गर्न गण्डकी प्रदेशबाट खटिएको प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पु¥याउन सकेको छैन ।

अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाका दोषी उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको बताए ।

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेको एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका छन् ।जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताउँदै घटनाले गाउँले नै त्रसित भएको बताए ।

हसिँया भेटियो, अपराधी भेटिएन
प्रहरीले घटनास्थलबाट जिसी दम्पत्तीको हत्यापछि घरको ढोकामा चाबी लगाएर अपराधि भागेको छ । हत्यामा प्रयोग गरिएको हसिँया र चाबी फेला पारेको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञटोली घटनास्थलमा पुगेर अनुसन्धानको क्रममा हत्यामा पत्ता लगाउन केनाइन शाखाबाट ट्रयाकर विषयमा विशेष तालिम प्राप्त ट्रयाकर कुकुरको सहारा लियो ।

घटनामा संलग्नको गन्धको खोजी गदैं कालिपुल पेट्रोलपम्प नजिकैको झोलुङ्गे पुलमा पुगेपछि रोकिएपछि थप अनुसन्धानका सघाउन सकेन् ।घटनास्थलमा एकसाताको अवधिमा गण्डकी प्रदेशभित्र र प्रहरीको विज्ञ सहितको टोली पुगेपनि अपराधिले प्रमाण नछोडेका कारण समस्या भइरहेको छ ।

सबुत नछाडी हत्या गर्नु र भएको सबुतबाट पनि कुनै क्लु फेला नपरेका कारण हत्या व्यावसायिक अपराधीबाट गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

घरभित्र हत्या गरेपछि हत्यारा बाहिर निस्किदाँ कुनैपनि रगतको थोपा समेत नभेटिनु,घटनास्थलमा कुनैपनि बलियो प्रमाण छोडेर नजानु, घटनास्थल नजिकै भेटिएको हसिँया र अन्य प्रमाणहरुबाट समेत हत्यारा पत्ता लगाउन नसक्नुले पञ्जा लगाएर हत्या गरेको आशंका समेत गरिएको छ।

घरमा हत्याराहरु कसरी प्रवेश गरे? हत्यापछि कसरी निस्किएर र कुन क्षेत्रतर्फ गए भन्ने पहिचान हुन सकेको छैन ? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो?,चोरीका लागी मात्रै गएको भए किन योजनाबद्ध र पेशेवर अपराधिले जस्तै प्रमाण लुकाए जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। जसका कारण प्रहरी आफैंमा अचम्मित छ ।

घरभित्र प्रवेश गरी हसियाँले लगातार आक्रमण गरेजस्तो देखिन्छ । घटनास्थलभित्रको अवस्था हेर्दा प्रमाण मेटाउन र प्रहरीको अनुसन्धानबाट समेत उम्किने गरी योजनाबद्ध जस्तै देखिन्छ ।

Leave a Reply