२२ बर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मूलुक यूएई पुग्नुभयो । अध्ययनलाई विचमै छोडेर १८ बर्षको उमेरमा ‘लेवर’ भिसामा दुबई पुगेका कार्कीले एउटै कम्पनीमा १५ बर्ष विताउनुभयो ।

कस्मेटिक उत्पादनहरू बनाउने कम्पनीमा करिब डेढ दशक निकै मेहनत गर्नुभयो । कम्पनीमा उत्पादन र बजारसम्म बिक्रीका लागि दैनिक १६ घण्टासम्म उहाँले काम गर्नुभयो । सिकेको अनुभव र सिपलाई ब्यवसायमा परिणत गर्ने सोच राख्नुभएका उहाँले यूएईको अजमानमा कम्पनी स्थापना गर्नुभयो ।

कम्पनीबाट उजोबा, निसा र ब्युटी क्लिनिक गरी तीनवटा ब्रान्डबाट ३ सय बढी सौन्दर्यसम्बन्धि सामग्री उत्पादन र विक्रि हुदै आएको छ। ट्रेन्स फर ब्युटी एण्ड प्रशनल केयर रिकोसटीङ म्यानुफ्याकचर लगायत कम्पनीका कार्यकारी प्रमुख (सिईओ) रहुनभएको छ । उहाँसंग ट्रेन्ससंगै न्यू ट्रेन्स इन्टरनेशनल उद्योग पाकिस्तान, अल हिरा जेनरल ट्रेडिङ र फ्युचर ट्रेन्स कस्मेट्रीक म्यानुफ्याकचर कम्पनी रहेको छ । पाकिस्तान, यूएई र इराकमा रहेको कम्पनीबाट उत्पादन हुने बस्तु विश्वका २३ राष्ट्रमा बिक्री गर्ने वातावरण बनाउनुभएको छ।

सन् २०१९ मा कम्पनी स्थापना गरेका कार्कीले विश्वभर कोरोना संक्रमणको महामारीको समयमा कम्पनीमा उत्पादन हुने सेनिटाइजर सहितका साम्रागी यूएई सरकारलाई समेत बिक्री गर्नुभयो । उहाँले कोरोना रोकथाममा खेलेको भूमिकाको उच्च प्रशंसा गदैं यूएई सरकारबाट प्रशंसा पत्र प्राप्त गर्नुभएको थियो । यूएईमै बिक्री गर्ने गरी कम्पनी खोलेपनि छोटो समयमै विश्वबजारमा आफ्नो उत्पादनलाई विस्तार गर्न सफल हुनुभएको छ ।

सकारात्मक सोच, इच्छाशक्ति र सफलताको सपनालाई साकार बनाउँदै २२ वर्ष अगाडि काम गरेको कम्पनीलाई नै प्रतिस्पर्धी बनाएर मालिक बन्न सफल भएका कार्की रोजगारको शिलशिलमा यूएई आउनुभएका म्याग्देली र नेपालीको प्रेरक बन्नुभएको छ। अर्काको कम्पनीमा मात्रै काम गरेर सफल हुन नसक्ने सोच बोकेर कम्पनी स्थापना गर्नुभएको थियो । स्थापनाको समयमा कानुनी झन्झटको सामाना समेत गर्नुभयो ।

कानुनी लडाईमा जित्नुभएका कार्कीले काम गर्दै जाँदा चिनजान र धेरैसँग घुलमिल हुन पाएकोले अहिले ब्यवसायमा सफलता प्राप्त गरेको बताउनुभयो । ‘मजदुरी गर्दा सिकेको सीपले कम्पनी खोले, मैले ‘लेवर काम गर्ने कम्पनीको म्यानेजर नै अहिले मेरो काम्पनीमा काम गर्छन्’ युवा ब्यवसायी कार्कीले भन्नुभयो । ‘अहिले विगत कमाएको रकम र बाँकी कर्जा लिएर उद्योग सञ्चालन गर्नुभएको छ ।

थप नयाँ उद्योगको समेत तयारीमा जुटेका कार्कीले अबको ५ बर्षमा विश्वका धेरै मुलु्कमा आफ्ना उत्पादनहरू पु¥याउने योजना बनाउनुभएको छ। कम्पनीले घरायसी दैनिक जीवनमा उपयोग हुने सरसफाई र सौन्दर्य सामग्रीको उत्पादन् गर्दै आएको छ । करिब ३ सय नेपाली र विदेशीलाई रोजगारी दिएका कार्कीले कम्पनीमा कार्यरत सबै कर्मचारीलाई एकै किसिमको सम्मान गर्नुहुन्छ ।

सपनालाई गरिबीले छेक्दैन भन्नेहरूका लागि उदाहरण बनेका कार्की मोना यूएईका निर्वतमान अध्यक्ष समेत हुनुहृन्छ । उहाँले मोना, एनआरएनए लगायत जन्मभूमि नेपालको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ। विदेशमा नेपालीले सिकेको सिप र लगानी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण नेपाल सरकारले तयार गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ ।

“बिदेशमा उर्जाशिल समयमा आर्जन गरेको स्रोतलाई आफ्नो देशमा लगानी गर्नुपर्छ धारणामा सबै सकारात्मक नै हुनुहुन्छ, विदेशबाट नेपाल आउदाँ योजनासहित टेकिन्छ, विदेशमा पसिना बगाएको आम्दानीलाई स्वदेशमा रोजगारी स्थापना गर्ने उद्योगमा लगानीको लागि सरकारी तवरबाट वातावरण बनाउन आवश्यक देख्छु,”– उहाँले भन्नुभयो ।

उहाँलाई यूएईमा रहेका म्याग्देलीले प्रेरक व्यक्तिका रूपमा पनि लिने गरेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो। ‘उहाँको संघर्ष र सफलताको कथा उत्प्रेरक छ, मेहनत, लगाव, इच्छाशक्ति र श्रमलाई निरन्तरता दिएपछि सफलता प्राप्त गरेको उदाहरण बन्नुभएको छ’ अध्यक्ष राम्जालीले भन्नुभयो ।

पछिल्लो समय युएईमा नेपाली रेस्टुरेन्टका साथै ट्राभल्स कपडा, मिठाई पसल, सुनचाँदि पसल खोल्ने क्रम बढेपनि कार्की म्याग्दीबाट उद्योग स्थापना गरी रोजगारी दिने पहिलो म्याग्देली हुनुहुन्छ । ब्यवसाय र उद्योग संचालन गर्न पैसा भएर मात्र सम्भव छ भन्ने सोचलाई नेपालीले बदल्नुपर्छ ।

Leave a Reply