म्याग्दीको बेनी नगरपालिकाभित्र सञ्चालित अटोरिक्साले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो यात्रुले गरेका छन् । नगरभित्र सर्वसाधारणको सुविधाका लागि रुट कायम गरी सञ्चालन भइरहेको अटोरिक्साले नगरपालिकाले तोकेकोभन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि अटोरिक्सामा भाडादरको सूची राखेर सञ्चालन गर्न नगरपालिकाले अटोरिक्सा ब्यवसायीलाई निर्देशन दिएको छ।

बेनी नगरपालिका भित्र रिक्सा सञ्चालनका लागि तोकिएको रूटमा नगरपालिकाबाट निर्णय भए अनुसारको भाडामा यात्रुलाई सेवा दिनका लागि रिक्सा ब्यवसायीलाई अनुरोध गरिएको र ट्राफिक प्रहरीलाई समेत नियमनमा कडाई गर्न अनुरोध गरेको मेयर सुरत केसीले बताउनुभयो ।

‘यात्रुको सहजताका लागि रिक्सा सञ्चालन गरिएको हो, यात्रुले तोकेको भन्दा धेरै भाडा लिने गरेको गुनासो आएपछि कडाई गरिएको हो’मेयर केसीले भन्नुभयो । सदरमुकाम बेनीबजार भित्र समेत यात्रुलाई फरकफरक भाडा लिने, सबै रिक्साको भाडादरमा एकरुपता नभएको जस्ता गुनासो नगरपालिकामा पुगेपछि नगरप्रहरीले समेत अनुगमन गर्न थालेको छ ।

नगरभित्र कालोपत्र, ढलानगरिएका सडकमा मात्रै यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएकोमा केही अटो रुट बाहिर समेत पुग्दा दुर्घटनाको जोखिम समेत बढेको अवस्थामा ब्यवसायीलाई छलफलमा समेत बोलाइएको छ । बेनपा-१ रत्नेचौर, बेनपा–४ तातोपानीको प्रहरी चौकी, बेनपा-९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा-२र ३ को सिमान ढूधेखोलासम्म रुट निर्धारण गरिएको छ । अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर साढे सात भाडासमेत निर्धारण गरिएको छ ।

नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएपछि १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म ९ वटा सञ्चालनमा रहेको गौरीधाम यातायात प्रालिद्धारा बेनी शाखाका प्रमुख विकास कुँवरले बताउनुभयो ।

‘तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही गर्नुपर्छ, ामीले पनि नगरपालिकालाई सघाउँछौ’ कुँवरले भन्नुभयो। उहाँले इजाजत दिइएको रुटको भाडादर पेट्रोलियम पदार्थको मुल्य अनुसार भाडादर समायोजन गर्न नगरपालिकालाई अनुरोध गरिएको बताउनुभयो ।

नगरपालिकाले कायम गरेको भाडादर

 

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकासिँदा अहिलेको भाडादरमा यात्रु बोक्न सक्ने अवस्था छैन,‘अन्य जिल्लामा प्रतिकिलोमिटर भाडादर हेरेर हामीलाई केही राहत दिन अनुरोध गरेका छौ,अहिले प्रतिकिलोमिटर कायम गरिएको भाडादर कायमले खर्च धान्न पनि मुस्किल छ’ कुँवरले भन्नुभयो । यात्रुलाई अचाँक्ली भाडा लिने अटो चालकलाई निगरानीमा नगरपालिकालाई सघाउने समेत कुँवरको भनाई छ ।

नगरपालिकालाई आटो ब्यवसायीले बेनीबजारभित्र प्रति यात्रु ४० रुपैयाँ, बेनी–तातोपानी, बेनी–रत्नेचौर १ सय, बेनी–गलेश्वर ४०, बेनी–डम्बरा ४०, बेनी–चुत्रेनी ५०, बेनी– बगुवाखोला ६०, बेनी–बगरफाँट ५०, बेनी अर्थुङ्गे ६० रुपैयाँ भाडादर कायम गर्न अनुरोध गरिएको छ । नगरपालिकाले भाडादर समायोजनमा सकारात्मक भएपनि ब्यवसायीको भाडादर अनुसार यात्रुलाई मर्का पर्ने बताएको छ ।

नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि अनुसार सञ्चालन गर्न अटो ब्यवसायीलाई अनुरोध गरेको छ । बेनीका सबै रिक्सा पेट्रोलबाट सञ्चालित छन् ।

 

Leave a Reply