मध्यपूर्वी एसियाको मुस्लिम राष्ट्र कतारमा विगत ४ बर्षदेखि म्याग्दी मालिका गाउँपालिका–३,डाँडागाउँकी यमुना पटेलले लोपउन्मुख थाली नाच प्रर्दशन गर्ने गरेकी छन् ।कतारको सामुदायिक कलेजमा हाउस किपिङ सुपरभाइजरमा कार्यरत पटेलले विदाको समयमा नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा जोडी थाल बोकेर नृत्य देखाउन पुग्छिन् ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यले कतारमा रहेका नेपाली र कतारीलाई समेत म्याग्दीको पहिचान थाली नाचले आर्कषित गरेको छ ।

पहिलोपटक नाच देखाउँदा कानेखुसी गर्ने नेपालीले समेत अहिले थाली नाचका लागि कलाकार पटेललाई निम्तो दिने गरेका छन्। हालै मोना कतारको स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकार पटेलले प्रस्तुत गरेको थाली नाचलाई अधिकांस सहभागीले रुचाएका थिए । थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै सहभागीले निकै प्रशंसा गर्छन् ।

रोजगारीका लागि कतारमा पुगेकी पटेलले नेपालमै नाच सिकेपछि मोना कतारका निर्वतमान अध्यक्ष एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीलाई थाली नाचका लागि वातावरण बनाइदिन गरेको अनुरोधपछि उनलाई अहिले कतारकी थाली नाचकी कलाकार भनेर चिन्ने गरिन्छ ।

म्याग्दी जिल्लाबाट रोजगारीका लागि कतारमा पुग्दा गाउँघरमा सिकेको थाली नाचलाई समेत प्रर्दशन गर्न पाउँदा निकै खुसी लागेको कलाकार यमुना पटेलले बताइन्।

‘हातमा सेलोटेप लगाएर नाँच्ने आरोप पनि लगाए, मैले थाल नै भुईबाट टिपेर हातमा राखेपछि धेरैको भ्रम चिरियो’कलाकार पटेलले भनिन् । घरमा ऐनामा हेदैं सिकेको नाच अहिले कतारमा लोकप्रिय हुदाँ जिम्मेबारी थपिएको महसुस गरेकी छन् । ‘घाँसदाउरा गर्दागदैं सिकेको नाच हो,‘ विदामा कोठामा पनि फुर्सदमा नाँच्छु’ पटेलले भनिन्।

उनले कतारमा रोजगारीका लागि आएपनि आफ्नो जन्मभूमि म्याग्दीबाट सुरू भएको थाली नाचको एक्लो कलाकार हुन पाउँदा खुसी लागेको बताइन्। कतारका सबै क्षेत्रमा बसोबास गर्ने नेपालीहरू आवद्ध रहेको संघसंस्थाबाट थाली नाचका लागि अफर आउने गरेको बताइन् ।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। सारीमा सजिएर थाली नृत्यमार्फत प्रस्तुत गरेकी पटेलले कामको ब्यस्तताले गर्दा सबैजसो कार्यक्रममा पुग्न नसकेपनि समुन्द्रपारी म्याग्दीको मौलिक नृत्य ल्याउन सफल भएको बताइन् ।

मोना कतारका अध्यक्ष राजु पौडेलले थाली नाचलाई हरेक कार्यक्रममा प्राथमिकताका साथ प्रर्दशन गर्ने गरिएको बताए ।‘छोटो समयमा कतारभरी थाली नाचको महत्व फैलिएको छ,‘थप कलाकारहरूलाई समेत तालिम दिने वातावरण बनाउँदैछौ’ अध्यक्ष पौडेलले भने । थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने गरेकाले मोना कतारले आयोजना गर्ने कार्यक्रममा नियमित जस्तै प्रस्तुत गरिने बताए ।

थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। पश्चिम म्याग्दीकी कलाकार पटेलले उत्तरी म्याग्दीको चिमखोलाबाट सुरु भएको नाचलाई फैलाएर म्याग्देली कला र संस्कृतिमा एकता र विविधताको झल्को दिएको छ ।

नाचमार्फत दर्शकको आर्कषक र आर्थिक सहयोग जुटाउन समेत सहज भएको बताईन्, दशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन भएपनि अहिले स्टलको थाल नचाउने गरिन्छ ।

वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन्। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

Leave a Reply