गण्डकी प्रदेशमा म्याग्दी जिल्ला उत्कृष्ट भलिबल संघ हुन सफल भएको छ । गण्डकी प्रदेश भलिबल संघको बुधबार सम्पन्न साधारणसभामा म्याग्दी जिल्ला भलिबल संघलाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको हो । अन्य प्रतिस्पर्धी १० जिललाई उछिन्दै उत्कृष्ट भएको जिल्ला भलिबल संघ म्याग्दीलाई साधारणसभामा सम्मानपत्र प्रदान गरिएको छ ।

तेजेन्द्र बाँनियाको नेतृत्वमा रहेको जिल्ला भलिबल संघले अन्य जिल्लाको तुलनामा ४६ लाख भन्दा बढिको रकम संकलन गरी अक्षयकोष स्थापना गर्न भूमिका खेलेको, जिल्लास्तरीय छात्रछात्रा र शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गरेको, जिल्लाभित्र विभिन्न स्थानमा पुगेर तालिम सहितका विभिन्न भलिबलजन्य गतिविधि गरी भलिबल संघको गरिमा बढाएको भन्दै उच्च प्रशंसा गरिएको थियो । जिल्लाका सबै पालिकामा भलिबल संघ गठनले समेत अन्य १० वटा जिल्लालाई नयाँ सन्देश प्रवाह गरेको बताइएको छ ।

गण्डकी प्रदेशको म्याग्दी जिल्ला भलिबल संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका भलिबल खेलाडी उत्पादन हुने जिल्लाको रुपमा समेत विगत लामो समय देखि आफूलाई स्थापित गर्न सफल छ । जिल्लाको आफ्नै व्यवस्थित कार्यालय समेत रहेको म्याग्दी जिल्ला भलिबल संघले नर्वौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल सम्पन्न गर्न समेत अहम भूमिका खेलेको छ ।

सम्मान गर्ने प्रदेश भलिबल संघलाई समेत आभार व्यक्त गर्दै अध्यक्ष बाँनियाले नेपालकै उत्कृष्ट बनाउन निरन्तर लाग्ने बताए।

उनले म्याग्दी भलिबल संघको आफ्नै भलिबल खेल मैदान निर्माणको योजनामा समेत सम्मानले उर्जा थपिएको बताए । उनले भलिबल खेलमा आधारभुत तहदेखि नै विद्यालयमा सञ्चालन गर्ने, खेलाडीलाई नियमित प्रशिक्षण दिने लगायतका योजना समेत बनाएका छन् । म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट भएको सहयोगदाता तथा सम्पूर्णमा हार्दिक आभार समेत प्रकट गरेको संघमा महासचिव कुमार किसानले बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको साथ र सहयोगले भविस्यमा पनि संघमार्फत निरन्तर काम गर्ने बताए । सम्मान कार्यक्रममा महिला राष्ट्रिय टोलीकी कप्तान म्याग्देली चेली अरुणा शाही, गण्डकी प्रदेशका भलिबल खेलाडी म्याग्दीका सुजन चोखाल सहितको उपस्थिती रहेको थियो । सम्मानित हुने टोलीलाई गण्डकी प्रदेश भौतिक पूर्वाधारमन्त्री राजिव गुरुङले सम्मान गरेका थिए ।

Leave a Reply