म्याग्दीको मालिका गाउँपालिका-७,बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीले विद्यालयकै प्राङ्गनमा कृषिजन्य बस्तुको उत्पादन गरी बार्षिक साढे २ लाखभन्दा कमाएका छन् । विद्यालयमा डिप्लोमा कृषि ‐बाली बिज्ञान०, प्री डिप्लोमा कृषि बाली विज्ञान, डिप्लोमा पशु बिज्ञानमा अध्ययनरत विद्यार्थीले च्याउ,आलु,धान, किबी, मह लगायत मौसमी र बैमौसमी तरकारी बिक्री गरी रहरलाग्दो आम्दानी गर्ने गरेका छन् । यसबर्ष ६ क्विन्टल च्याउ बिक्रीबाट डेढ लाख, आलु बिक्रीबाट ४० हजार, धान बेचेर ३० हजार,किबी २० हजार, तरकारीको बिरुवाबाट ४० हजार र मह लगायत अन्य कृषिजन्य बस्तु बिक्री गरेको शिक्षालयका परीक्षा प्रमुख विष्णु सुबेदीले बताउनुभयो ।‘यसबर्ष मह बेचेर समेत विद्यार्थीले कमाइ गरेका छन्, नयाँ उत्पादनमा विद्यार्थीलाई जोड्ने प्रयासमा छौ’ सुबेदीले भन्नुभयो ।

धानखेत, च्याउ र तरकारी गरी ८ वटा टनेलसँगै ब्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पदान र बिक्रीमा सहज भएको छ । २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तरगत शिक्षालयले यसबर्ष देखि मौरीका ६ वटा घारबाट मह उत्पादन गरी बिक्री गरेको छ । शिक्षालयमा अध्ययनरत विद्यार्थीले सबैभन्दा धेरै च्याउ र तरकारी फलाउने गरेका छन् । विद्यालयमा उत्पादन गरिएको च्याउ, तरकारी सहितको उत्पादन गाउँका साथै दरबाङसम्म ल्याएर बिक्री गर्ने गरिएको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्कीका साथै कालिकोट, सिराह, धनुषा, महोत्तरी, हुम्ला र जुम्लाबाट गरी १० जिल्लाका विद्यार्थी अध्ययनरत शिक्षालयले पाठ्यक्रमसँगै ब्यवहारिक शिक्षामा केन्द्रित गरेकाले उत्पादन बिक्री गर्न सकिएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौ’ प्राचार्य गर्बुजाले भन्नुभयो । बिक्रीबाट आएको नाफा विद्यार्थी र शैक्षिक भ्रमण सहितका कार्यहरूमा प्रयोग गर्ने गरेको छ। विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यकता परेमा विद्यालयले ऋणको सुविधा समेत दिएको छ ।

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए। किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ । 

Leave a Reply