सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौँको रहोवरमा बयान लिएर शुक्रबार छाडेको हो।

महरालाई निर्मल महराको रहोवरमा छाडिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा महरामाथि पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो। त्यसपछि प्रहरीले पाँच दिन९चैत ५ गते०अघि कपिलवस्तुबाट पक्राउ गरेको थियो। पक्राउ गरेपछि प्रहरीले गत सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। जहाँ महराले आफूमा ७/८ प्रकृतिका रोग रहेको बयान दिएका थिए। त्यसपछि अदालतले उनलाई अस्पतालमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

प्रहरीका अनुसार महराको स्वास्थ्य अवस्था नाजुक भएकाले हाजिरी जमानीमा छाडिएको हो। महरालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार हाजिरी जमानीमा छाडिएको सिआइबीले जनाएको छ।

उक्त दफाको उपदफा १ मा ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ’ भन्ने व्यवस्था छ।

Leave a Reply