बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीगण्डकी नदी सुकाएर जलविद्युत आयोजना निर्माण गर्न नदिइने बताउनु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको सोमबार भएको पदस्थापना कार्यक्रममा नगर प्रमुख केसीले गलेश्वर क्षेत्रमा बाँध र पर्वतको जलजला ४ मोहनचोकमा विद्युतगृह प्रस्ताव गरिएको बेनी कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न नहुने स्पष्ट पार्नुभयो ।

‘म्याग्दी र कालीगण्डकीको दोभान मुनी जुगेपानी भन्दा माथि देखि गलेश्वर सम्म कालीगण्डकीलाई सुरुङमा हालेर सुकाउँदा यहाँको पर्यावरणमा दिर्घकालिन असर पर्ने नगरपालिकाको बुझाई छ,’ उहाँले भन्नुभयो ‘जलविद्युत आयोजना बनाएर आउने रोयल्टी भन्दा बढी वातावरणीय क्षति हुने हाम्रो निष्कर्ष छ ।’

नगर प्रमुख केसीले नदी कटान र बाढी नियन्त्रण, नदीजन्य बस्तुको संकलन र विक्री वितरण तथा जलपर्यटनको विकास गर्न म्याग्दी र कालीगण्डकी नदीमा ‘बेड बार’ बनाउन लागिएको जानकारी दिनुभयो ।

“आगामी आर्थिक वर्षका लागि संघीय सरकारले दिने विशेष र समपुरक बजेटको योजनाका लागि म्याग्दी र कालीगण्डकी नदीमा बेडबार बनाउने योजनालाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेका छौ,” उहाँले भन्नुभयो “सुस्ताएको म्याग्दीको आर्थिक गतिबिधिलाई चलायमान बनाउने, आन्तरिक आम्दानी बढाउने र नदीजन्य निर्माण सामग्रीको आपुर्तिलाई सहज बनाउने लक्ष्य राखिएको छ ।”

खोलामा पक्कि पर्खाल लगाएर बेडबार बनाउँदा कटान तथा बाढी रोकथाम हुने नगर प्रमुख केसीले बताउनुभयो । बेडबारको बाँधमा थुप्रिने ढुङ्गा र बालुवा निकालेर विकास आयोजनाहरुलाई बिक्री मार्फत आम्दानी गर्न सकिने सम्भावना रहेको नगरपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

बेडबार बनाएपछि बन्ने तलाउमा जलपर्यटनको विकास गरेर बेनी बजारको आर्थिक गतिबिधिलाई चलायमान बनाउन सकिने नगर प्रमुख केसीले बताउनुभयो । बेडबार बनाउँदा म्याग्दी नदीको किनारमा रहेको प्राकृतिक उपचार स्थलको रुपमा रहेको बेनी नगरपालिका–४ को सिंगा तातोपानी कुण्डको संरक्षण पनि हुने बताइएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले तिनाउ नदी नियन्त्रणका लागि बेडबार प्रबिधि प्रयोग गरेको छ । तनहुँको आबुखैरेनी गाउँपालिकाले जलविद्युत आयोजनाको बाँधको तलाउमा जलपर्यटन प्रर्वद्धनका लागि संघीय सरकार र नेपाल विद्युत प्राधिकरणसँग अनुमति मागेको छ । यसैगरी बेनी स्थित कालीगण्डकी नदीमा मुक्तिनाथ जाने भक्तजनहरुका लागि स्नान स्थलको रुपमा विकास गर्ने तयारी पनि भएको नगर प्रमुख केसीले बताउनुभयो ।

मेयर केसीले नीजि क्षेत्रसंग साझेदारी गर्ने नगरपालिकाको नीतिलाई आगामी दिनमा थप प्रभाबकारी बनाउने बताउँदै पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीजि क्षेत्रको सक्रियता आबश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले रहरले कर तिर्नुपर्ने बताउँदै नगरपालिकाले करदको दरलाई घटनाएर दायरा फराकिलो बनाउन थालेको बताउनुभयो ।

बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले उद्योगी व्यवसायीले गर्ने लगानीले रोजगार र अवसर सिर्जना गर्ने बताउँदै जिल्लाका सम्भावनाहरुको खोजी र उजागरमा समेत अग्रसर बन्नुपर्नेमा जोड दिनभयो । उपप्रमुख लामिछानेले उद्योग वाणिज्य संघको कार्यसमितिमा लैङ्गिक समावेशीकरणको सिद्धान्त प्रतिकुल भएकोमा प्रश्न उठाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार व्यवसायबाट आर्जन गरेको पुँजीलाई संचय गरेर ठूला योजनामा लगानी गर्न सके रोजगार र प्रतिफल सिर्जना हुने बिचार व्यक्त गर्नुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षहरु कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, सुदर्शन कुमार श्रेष्ठ, उत्तम कर्माचार्य लगायतले जिल्लाका सबै स्थानीय तह र बजार क्षेत्रमा पुगेर संघका गतिविधिलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

संघका नवनिर्वाचित अध्यक्ष सुविन श्रेष्ठले तीन बर्षे कार्ययोजना बनाएर संघका गतिविधिलाई प्रभाबकारी बनाउने बताउँदै जिल्लामा व्यापार व्यवसायको विस्तार र लगानीका क्षेत्रको पहिचान गर्न संघलाई क्रियाशिल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो भने महासचिब नारायण जिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम, दितिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ, सचिव मोतिलाल पौडेल, सह–सचिव टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्ष बाबुराम आचार्य लगायत कार्य समितिले औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

आमन्त्रीत सदस्यमा मनोनित भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीका उद्योगी व्यवासायीहरुले उत्पादनमुलक र पर्यटन विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply