म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ ।

घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको शाखाका प्रमुख चन्दन सुवेदीले बताए । “बेनी नगरपालिकामा सबै गर्भवतीले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिइरहेका छन्”, उनले भने, “होम डेलिभरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”

नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७ र चालु आवको हालसम्म दुई सय ३५ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ देखि नगरपालिकामा घरमा सुत्केरी हुने आमाको सङ्ख्या शून्य छ ।

दशवटा वडा रहेको बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।

आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्”, उनले भने, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेका छन् ।”

1 COMMENT

  1. धेरै राम्रो काम भएको रैछ बेनि नगरपालिकामा त।।।हस्पिटल लैजानु मलाई धेरै गाह्रो भयो भन्दा नि नलैजाने अनि अहिले बच्चा अपांग छ मलाई नै दोष लगाउछन अब दुखु गाउमा नि जनचेतना दिनुपर्यो यहा बच्चा जन्मिनु गाह्रो हुदा हस्पिटल लानुभन्दा चुरुनिले हो भन्दै के के हो के के गर्छन बरु बच्चा आमा मरे मरोस जस्तो गर्छन झन्डै मरिएन हिड्न सक्दै आफै हस्पिटल जाउ त म सङ्ग पैसा थिएन। हिड्नै नसक्ने गरि ब्यथा लाग्दा केको हस्पिटल लानु मरे अर्को स्वास्नी लेउछ मेरो छोराले भन्नेसम्म भन्छन। त्यही भएर अर्को बच्चा जन्माउने साहस पनि छैन यो समाजमा।।

Leave a Reply