नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ ।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार, १२ हजार, ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले बताए ।

प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गरेका थिए । नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको सांसद गर्बुजाको भनाई थियो ।

सोही अवसरमा गण्डकी प्रदेशकी पूर्वमन्त्री नरदेबी थापा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल भाषा मंकाखल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, मगर संघ म्याग्दीकी निर्वतमान अध्यक्ष डकमायाँ पुनले मन्तब्य राखेका थिए ।

लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न,नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन दिवसको अवसरमा विद्यालयस्तरीय नृत्य प्रतियोगिताको आयोजना गरिएको मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताए । म्याग्दी जिल्ला मगर समुदायको बाहुल्यता भएको जिल्ला हो ।

कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुन मगरको अध्यक्षता, उपाध्यक्ष खम थापामगरको स्वागत र सचिव हिराबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply