पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सोमबार समापन भएको छ । शनिबारदेखि प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको थियो ।

जलजला गाउँपालिका लामाखेत पर्वतको तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको तालिममा जनप्रतिनिधि र कर्मचारीको काम, कर्तब्य र अधिकार तथा स्थानीय तहलाई नमुना बनाउन आवश्यक पर्ने असल अभ्यासहरूका बारेमा प्रशिक्षण दिइएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार तालिमले जनप्रतिनिधि र कर्मचारीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सघाउने बताए ।

तीन दिनसम्म सञ्चालित तालिममा सकारात्मक सोच, स्थानीय तहको वित्तीय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, वार्षिक योजना र मध्यकालीन खर्च संरचनाको अन्तरसम्बन्ध, नेतृत्व सिप विकास, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास, योजना अनुगमन तथा मूल्याङ्कनमा जनप्रतिनिधिहरुको भूमिका, राजश्व सुधार योजना, सम्पति कर कार्यान्वयन, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी, वैठक व्यवस्थापन र निर्णय प्रक्रिया, संघ–प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, योजनाको अवधारणा तथा स्थानीय तहको योजना तर्जुमा र सिफारिस प्रक्रियाको विषयमा सहजीकरण गरिएको थियो ।

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापन अधिकृत योगमाया सापकोटा, कम्प्युटर अधिकृत रामहरि खत्री, लेखा अधिकृत चञ्चलाकुमारी अधिकारी र सकारात्मक सोचका प्रशिक्षक विश्वरमणले सहजीकरण गरेका थिए । तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाले सहभागिता जनाएका छन् ।

तालिम समापनमा सहभागीको तर्फबाट वडा नं ७ की सदस्य लक्ष्मी आचार्य र लेखा समिति संयोजक एवम् वडा नं ५ का वडा सदस्य टकबहादुर पुनले तालिम उपलब्धीमुलक भएको बताएका थिए ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले समापन गदैं तालिममा सिकेका सीपलाई ब्यवहारमा पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले नमुना जलजला गाउँपालिका बनाउन सबैको साथ र सहयोग आवश्यकता रहेको र कर्मचारी र जनप्रतिनिधिले समेत आफ्नो जिम्मेबारी अनुसार कार्यसम्पादन गर्ने बताए । कार्यक्रमको सञ्चालन जलजलाको सामाजिक विकास अधिकृत एबम् सूचना अधिकारी भेषनाथ आचार्य ले गरेका थिए ।

Leave a Reply