म्याग्दीको मंगला गाउँपालिका-२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले च्याउ उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेबारीमा समेत पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धान गर्ने गरेका छन् । विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गरी बजारमा समेत बिक्री गर्छन्।

विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागी भाडामा लिएको जग्गामा गरिएको च्याउ खेतीलाई विद्यालयको नामबाट प्याकेजिङ गरी आधा केजीको १२५ रुपैयाँमा बिक्री वितरण सुरु गरेको विद्यालयका प्रधानध्यापक गम खत्रीले बताए ।

‘च्याउ अहिले बावियाचौर बजारमै खपत हुने गरेका छन्,’विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउँछौ‘ प्रअ खत्रीले भने ।

विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाई छ ।माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् ।

कक्षा १२ की बिनु ढकाल,सन्तोष पुन, दिपेश थापा, कक्षा ११ का बेलबहादुर राना, कक्षा ९ की मुना बानियाँ, सुप्रिया आचार्य भरोसा खत्री सहित बालि ४४ जनाविद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै वित्ने गरेको छ ।गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।

नेपाल सरकारको नमूना विद्यालय मंगलाले भाडामा लिएको २ रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बिउ लगायतका उपज फलाउने गरेका छन् ।एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताए । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको छ ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविस्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन्। विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ९ जना दरबन्दी छ ।

Leave a Reply