भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा धवलागिरि गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको छवटा स्थानीय तहको ४५ वडामध्ये सडक यातायातको सुुविधा नभएको वडा गुर्जामात्र हो ।

पाँचवटा कोठा र एकतले भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री रहेको धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए । भवन निर्माणका लागि एक करोड ३९ लाख पाँच सय ९४ मा ठेक्का लिएको पौडेल निर्माण सेवा बागलुङले एक करोड १७ लाख ३४ हजार एक सय १७ भुक्तानी पाएको उनले बताए ।

बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधि भण्डारण, प्रसूति, प्रशासनका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् । निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

“यसअघि कच्ची र जीर्ण भवनको साँघुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको थियो”, उनले भने, “नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई सहज भएको छ ।” अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जामा दुई सय ५० घरधुरी छन् । गुर्जा पुग्न छिमेकी गाउँ लुुलाङबाट पूरै दिन जङ्गल र भिरको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।

धवलागिरि गाउँपालिकामा पछिल्लो एक वर्षयता दुई करोड ७३ लाखको लागतमा गुुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ । हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ३९ लाख ७२ हजार ८१ मा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुईतले सभाहलसहित नौकोठे भवन निर्माणमा पछिल्लोपटक ३७ लाख पाँच हजार दुई सय छ खर्च भएको छ ।

थापा निर्माण सेवाले ठेक्का पाएको लुलाङ वडा कार्यालय भवन निर्माणमा ५७ लाख ५९ हजार छ सय ९७ खर्च भएको सबइन्जिनियर रावलले बताए । यसअघि ४७ लाख खर्च भएको ताकम वडा कार्यालयको भवनलाई पूर्णता दिन पछिल्लोपटक थप १४ लाख ५९ हजार पाँच सय ९२ खर्च भएको छ ।

लुलाङको वडा कार्यालय विसं २०७७ र अन्य तीनवटा भवन २०७८ मा निर्माण सुरु भएको थियो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा पाँच श्यया क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधीन छन् ।

सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । रासस

Leave a Reply