चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत सडक आयोजनाको प्रगति कमजोर देखिएको छ। राष्ट्रिय गौरवको आयोजनामा सडकका मात्रै सात वटा आयोजना रहेका छन्। ती सबैजसो आयोजनाको भौतिक प्रगति भने कछुवा गतिमा नै सीमित हुँदै आइरहेको छ।

अधिकांश सडकका आयोजनाले चालु आवको ६ महिनामा खर्च पनि न्यून गर्दै आइरहेको देखिन्छ । सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गको लागि चालु आवमा तीन अर्ब ९५ करोड ७५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। ६ महिना बितिसक्दा पनि आयोजनाले कुल विनियोजित बजेटको ३७.११ प्रतिशत अर्थात् एक अर्ब ४६ करोड रूपैयाँ मात्र खर्च गरेको छ।

पुष्पलाल राजमार्गको एक हजार आठ सय ७९ किलोमिटरमध्ये आयोजनाबाट ९५२ किलोमिटर सडक निर्माण भइरहेको छ। त्यसैगरी अन्य निकायबाट ४६२ किलोमिटर गरी एक हजार चार सय १७ किलोमिटर सडक कालोपत्र भएको छ।

 कुल एक सय ३७ पुलमध्ये हालसम्म एक सय दुई वटा पुलको मात्र निर्माण सम्पन्न भएको छ। सडक विभागका अनुसार यो सडक खण्डको गत आवको असार मसान्तसम्ममा समष्टिगत भौतिक प्रगति ७२.७ प्रतिशत रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा हुलाकी राजमार्गको लागि तीन अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। सोमध्ये हालसम्म ४४.३५ प्रतिशत अर्थात् एक अर्ब ५४ करोड रूपैयाँ खर्च भएको छ।

हुलाकी राजमार्गमध्ये एक हजार आठ सय ५७ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म एक हजार ६० किलोमिटर सडक कालोपत्र भएको छ। त्यसैगरी एक सय ३४ वटा पुल निर्माण सम्पन्न भएको छ।

सरकारले उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी कोसी) राजमार्गको लागि तीन अर्ब ६० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। सो मध्ये हालसम्म एक अर्ब २१ करोड अर्थात् ३३.८ प्रतिशत खर्च भएको छ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको लागि २२ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आवको ६ महिनामा चार अर्ब ३५ करोड रूपैयाँ अर्थात् १९.३७ प्रतिशत खर्च भएको छ।

चालु आवको ६ महिनामा ३९ सय ११ मिटर सुरुङ खन्ने काम भएको छ। त्यसैगरी १४ सय ८२ वटा पाइल निर्माण भएको छ। निर्माणाधीन तीन स्थानको सुरुङको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये दोस्रो चौमासिकसम्म ३.९११ किलोमिटर अर्थात् ६०.९ प्रतिशत सुरुङ खन्ने काम सकिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार प्याकेज नम्बर एक देखि सातसम्म र प्याकेज नम्बर १० का ६७ वटा पुलहरू निर्माणाधीन छन्। ती पुलमध्ये एक हजार सात सय ६८ वटा फाउन्डेसन पाइल निर्माण गर्नुपर्नेमा सो अवधिसम्म १४ सय ८२ वटा पाइल निर्माण सम्पन्न भएको छ। त्यसैगरी हालसम्ममा पाँच वटा पुल निर्माणको काम सकिएको छ।

पुस मसान्तसम्ममा भने तीन किलोमिटर सडकको सबवेस निर्माण कार्य सकिएको छ। पुस मसान्तसम्ममा २.१ किलोमिटर सडकको बेस निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हालसम्ममा आठ सय २० मिटर मात्र सडक सबवेस निर्माणको काम भएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा २१ वटा राष्ट्रिय गौरवका आयोजनाको समग्रमा २३.६१ प्रतिशत वित्तीय प्रगति भएको छ। सरकारले राष्ट्रिय गौरवका आयोजनाको लागि ६५ अर्ब ६४ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। सो मध्ये १५ अर्ब ५० करोड रूपैयाँ खर्च भएको छ।

Leave a Reply