बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालका रूख कटान प्रतिबन्ध खुला भएको छ।  सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार वि.सं. २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर वि.सं. २०८० मङ्सिर ७ मा जनाएसँगै सालका रूख कटान अवरोध हटेको हो।

यससँगै निजी वन दर्ताको क्रम सुरु भएको नुवाकोट डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिए। उनका अनुसार यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको छ।

‘निजी जग्गामा हुर्किएका सालका रूख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएको छ।’ डिभिजनल वन अधिकृत पोखरेलले भने, ‘दर्ता भएका निजी वनका सालका रूख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ।’

वन ऐन २०७६ र नियमावली २०७९ अनुुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा सालका रूख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन्।

डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रणपत्र पाइने व्यवस्थाअनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वन दर्ताका लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको डिभिजनल वन अधिकृत पोखरेलले जानकारी दिए।

उनका अनुसार रूख कटानको लागि स्थान र उद्देश्यअनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाका सालका रूख काट्न पाइने भएको हो।

बागमती प्रदेशभित्रका जिल्लामा सालका रूख काट्न ‘निजी वनका सालका रूख उपयोगसम्बन्धी कार्यविधि-२०८०’ मा निर्धारण गरिएको छ। उक्त कार्यविधि प्रदेशको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझावका लागि मातहतका निकायमा पठाएकाले छिटै लागु गर्ने जनाएको छ।

Leave a Reply