म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा यहि माघ ९ गतेदेखि १२ गते सम्म प्रथम म्याग्दी भलिबल कपको तयारी अन्तिम चरणमा पुगेको छ ।

बेनी नगरपालिका वडा नं ४ बास्कुनामा रहेको गौमति विकास कोषको मुख्य प्रायोजकमा हुन लागेको जिल्लाका अन्तरमावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको विच भलिबलमा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको छ भने शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालय सहभागी रहेको संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

प्रतियोगिताको छात्रछात्रातर्फ प्रथम पुरस्कार नगद ५० हजार र द्वितिय पुरस्कार नगद २५ हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक शिक्षिकातर्फ प्रथम पुरस्कार नगद २० हजार र द्वितिय पुरस्कार नगद १० हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताए ।

त्यस्तै विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु २ हजार ५ सय पुरस्कारको व्यवस्था समेत रहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष बानियाँले विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । त्यस्तै शिक्षकलाई पनि भलिबल खेलतर्फ आकर्षण गर्नका लागि शिक्षक, शिक्षिकाको खेल राखिएको उनले बताए ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जिल्लामा भलिबल खेलतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।

विद्यार्थीहरुलाई अनुशासन पूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुहुँदै अध्यक्ष केसीले उत्कृष्ट खेल खेल्ने खेलाडीलाई प्रदेश स्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनौट गर्न सकिने अवसर रहेको बताए । सहभागि विद्यालयलाई राष्ट्रिय झन्डा र विद्यालयको झन्डा अनिवार्य रुपमा ल्याउन संघले अनुरोध गरेको छ ।

प्रतियोगिता संचालनका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च लाग्ने संघले जनाएको छ । कार्यक्रम संघका अध्यक्ष बानियाँको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता र संघका महासचिव कुमार किसानको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply