म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मुसुङ गाउँमा आयातित मदिरा निषेध गरिएको छ । गाउँमा एक भेला गरी आयातित मदिराको नाममा गाउँबाट आर्थिक बाहिरिने जस्ता धेरै नकरात्मक समस्याको समाधान गर्न भन्दै गाउँभेलाबाट गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोकलगाइएको स्थानीय अगुवा पृथबहादुर पुनले बताउनुभयो । ‘आयातित मदिरा भेटिएमा जफत हुन्छ, सबै गाउँलेले नियमको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ’ अगुवा पुनले भन्नुभयो ।

जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरूको भेलाले सर्वसम्मत रूपमा आयातित मदिरा रोक लगाउने निर्णय गरेको थियो ।

गाउँमा लागु गरिएको नियमका कारण गाउँमा मदिरा भित्रिँदा बाहिरिने आर्थिक जोखिने र प्रयोग गर्नेले समेत स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने बताइएको छ । निर्णय कार्यान्वयनसँगै छिमेकी डोले गाउँ सहित सहरबाट मदिरा गाउँमा लैजान बन्द गरिने छ । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रिँदा हुने समस्या समाधानमा स्थानीयको निर्णयलाई समर्थन गर्ने वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

मदिरा सेवन गर्नेहरूलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ। मदिरा निषेधसँगै स्थानियलाई समेत मदिरा सेवन गरी होहल्ला गर्ने जस्ता गतिविधि भए सचेत बनाउने निर्णय समेत गरिएको छ ।

पर्यटकीयस्थल स्वर्गाआश्रम, बेलढुंगा आवतजावत गर्ने, विदेशबाट आउनेहरुका साथै विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा यो निर्णयले अबका दिनमा अनावश्यक फजुल खर्च बचत हुने स्थानीयबासीको भनाई छ ।

स्थानीय किबी, कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्थालाई भने निर्णयले कुनै असर नगर्ने बताइएको छ । यसअघि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ५ झिँ र मालिका गाउँपालिका वडा नं ५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए ।

Leave a Reply