मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले सार्वजनिक स्थलमा लुडो र क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाइएको छ।

सार्वजनिक स्थानमा भेला हुने, होहल्ला गर्ने, झैझगडा गर्ने क्रम बढेपछि वडा समितिको बैठकले सार्वजनिक स्थलमा लुडो र क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाइएको हो।

युवाहरू दिनभरि केही नगरी बरालिएर लुडो र क्यारमबोर्ड खेलमा झुम्मिन थालेपछि यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष भीष्मराज बुढाथोकीले बताए। उनले वडाका सार्वजनिक स्थानमा युवाहरू दिनभरि जम्मा भेला हुने र होहल्लालगायत विकृति फैलने कार्य गर्न थालेको गुनासो व्यापक आएपछि वडाले बैठकमार्फत प्रतिबन्ध गर्नुपरेको बताए।

सार्वजनिक स्थानमा लुडो र क्यारमबोर्ड प्रतिबन्धसँगै वडामा रहेका सम्पूर्ण होटलहरु पनि राति ८ बजेपछि पूर्ण रुपमा बन्द गर्नुपर्ने बताउँदै, वडाध्यक्ष बुढाथोकीले भने, ‘यस्ता गतिविधिले युवालाई दुर्व्यसनमा फसाउन सघाउ पुग्नुका साथै सार्वजनिक स्थल र पसलहरूमा लुडो र क्यारमबोर्ड खेल्नेहरूले हल्ला गरेको गुनासो आएपछि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। उक्त खेलहरू वडामा पूर्ण रुपमा खेल्न प्रतिबन्ध गरिएकोले कतै खेलेको या खेलाइएको पाइए जरिवाना तिर्नुपर्ने हुन्छ।’

आइतबार वडा कार्यालयमा वडाध्यक्ष बुढाथोकीसहित पूर्व वडाध्यक्ष द्वय गञ्जबहादुर कार्की र पारसमणि कुँइकेल, मोरङ जिल्ला समन्वय समिति सदस्य मित्र ढकाल, वडा सदस्य द्वय ज्योति धिमाल र कृष्ण थापा, अस्थाई प्रहरी चौकी मंगलबारेका निमित्त प्रहरी इञ्चार्ज प्रहरी वरिष्ठ हवल्दार चन्द्र भण्डारी, नगर प्रहरी प्रमुख याम कार्कीलगायतको बसेको बैठकले निर्णय गरिएको हो।

त्यसरी सार्वजनिक स्थानमा युवाहरू जम्मा भेला भएर न राष्ट्र र न स्वास्थ्यका लागि भूमिका खेल्छन्। यसरी जम्मा भेला भएर कसैलाई पनि कुनै पनि किसिमको फाइदा पुग्दैन। युवाहरू जम्मा भेला भई दिनभरि खेलहरू खेल्ने गरेको बताउँदै, वडाध्यक्ष बुढाथोकीले भने, ‘खेल्ने क्रममा होहल्ला गर्ने, अशान्ति मच्चाउने, अनावश्यक रुपमा समय व्यक्ति गर्ने, लागु औषध दुर्व्यसनीको सिकार बन्ने र झैझगडा गर्ने गरेका गुनासाहरू धेरै पटक आएकोले छ। राति ८ बजेपछि होटेल अनिवार्य रुपमा बन्द गर्नुपर्छ । रातको समयमा युवा तथा प्रौढहरू मद्यपान गरेर झैझगडा गर्ने र कुटपिटको घटना समेत बढ्न थालेकोले त्यसको न्यूनीकरणका लागि यस्तो निर्णय गरेका हौँ।’

सार्वजनिक स्थानमा लुडो र क्यारमबोर्ड खेल्ने बहानामा युवाहरुले लागु औषध प्रयोग गर्नुका साथै खरिद बिक्री गर्ने स्थलसमेत बनाएको पाइएपछि बन्द गर्नु परेको हो। वडाका १२ भन्दा बढी स्थानमा लुडो र क्यारमबोर्ड खेल्ने गरेको पाइएको छ। तीमध्ये ३÷४ वटामा व्यापक रुपमा युवाहरूको भीड लाग्ने गरेको थियो। बुढाथोकीले प्रहरीलाई उद्दृत गर्दै यस्तो स्थानमा युवाहरू जम्मा भेला हुने र लागु औषध प्रयोग गर्नेका साथै खरिद बिक्री गर्नेको भीड हुन थालेको बताए।

वडाका युवाहरू कुनै खेल खेल्ने भए चाहिने सामग्री वडाले उपलब्ध गराउने छ। खेलकुदलगायत अन्य आयआर्जनका लागि आवश्यक कार्यमा वडाले युवाहरूलाई सहयोग गर्ने वडाध्यक्ष बुढाथोकीले बताए।

वडाले प्रतिबन्ध लगाएको खेल खेलाएको पाइए ५ सयदेखि १ हजार रुपैयाँसम्म र राति होटेल सञ्चालन गरे १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने वडाध्यक्ष बुढाथोकीले बताए।

Leave a Reply