म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली राखु गाउँकी मनकुमारी पुनले यस वर्ष ९ लाखको सुन्तला उत्पादन गरिन् । विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गदै आएकी पुनले सुन्तलाले सुन्तलाको फल बाहेक बिरुवा बेचेर रहरलाग्दो गर्न सफल भएकी छन् ।

अगुवा कृषक पुनले सिजनमा आफ्नो र स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर अघिल्लो बर्ष आफै बिक्री गर्ने गरेकोमा यसबर्ष बाहिरी जिल्लाबाट आएका ब्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरिन् ।

सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यसबर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले बताए । राखुका कृषकले न्युनतम ३० हजारदेखि ९ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् ।

विगतमा सुन्तला बिक्री गरेर गाउँमा १ करोडभन्दा बढी भित्राउने गरेका कृषकले यसबर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजक समेत रहेका पुनले बताए ।

उनले राखुका कृषकबाट सुन्तला खरिद गरी काठमाण्ठौका ब्यापारीलाई बिक्री गर्ने गरेका छन् । ‘उत्पादन घटेपनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआगनमै लाखौं कमाएका छन्’ पुनले भने ।

राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाण्डौ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा ब्यापारीले प्रतिस्पर्धा गर्दा किसानले मुल्य समेत पाएको बताए ।

राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमति राना, थप बहादुर पुन,जसबहादुर घर्ती मगर लगायते ७ लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने ४ लाखभन्दा धेरै सुन्तला फलाउने कृषकको संख्या हरेक बर्ष बढ्दै गएको छ ।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यसबर्ष नयाँ बिरुवा थपेका छन् ।

सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै रोपिएको वडा अध्यक्ष पदम पुनले बताए । हरेक वर्ष नयाँ विरुवा वितरण, कृषि ज्ञान केन्द्र सहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको बताए ।

सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट आउन थालेपछि सडक समेत ब्यवस्थित बनाइएको छ।

अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआगन समेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुन्छ ।

Leave a Reply