आज उधौली पर्व, किराँत समुदायले हर्षोल्लासका साथ यो पर्व मनाउँदैछ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली पर्व धुमधामका साथ मनाउने गर्छन्। आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन्।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँदै आएका छन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन रहेको छ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।  वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्।

जसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ। दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन्।

Leave a Reply