पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता हुने भएको छ ।

‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ सम्पन्न हुने उक्त प्रतियोगितामा म्याग्दीका विभिन्न २२ विद्यालयका प्रतियोगिहरु समावेश हुने विद्यालयका प्रिन्सीपल विमल शर्माले बताउनुभयो ।
पश्चिम म्याग्दीकै महत्वपूर्ण कार्यक्रम मानिएको करबीर मेमोरियल कपको सम्पूर्ण तयारी तीब्र गतिमा संचालन भैरहेको विद्यालयले जनाएको छ ।

जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार ३ सय ३० र द्धितीय पुरस्कार नगद रु २० हजार,२ सय २२ का साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक फुटसल महिलातर्फ प्रथम हुनेलाई नगद रु १२ हजार १२ र द्धितीय पुरस्कार रु ७ हजार ७ का साथै प्रमाणपत्र रहेको छ ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगिताको मुख्य आकर्षण महिला फुटसल रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गरिसकिएको विद्यालयका प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

 

Leave a Reply