गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जालीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा समुदायस्तरबाट निर्माणधिन अवस्थामा रहेको पदमार्गमा दिनभरी श्रमदान गरेका छन् ।

प्रदेश मन्त्री भएपनि समुदायसँग घुलमिल हुदैं बजेट विनियोजनदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका मन्त्री जुग्जाली सहित प्रदेशसभा सदस्य हरि भण्डारी सहित नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको टोली लिएर गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण अभियानमा सहभागी भएका हुन् ।

माओवादी केन्द्रको वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित मन्त्री जुग्जालीले ब्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको थिए । भगवतीको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा पुर्व प्रदेशसभा सदस्य विनोद केसी, पाटीका प्रदेश सदस्य रिम केसी, बेनी नगरकमिटीका सचिव ज्ञानेन्द्र सुवेदी र जिल्ला सदस्य नरबहादुर भण्डारी लगायत स्थानीयले श्रमदान गरेका थिए । मन्त्री नै पदमार्गस्थलमा आएपछि स्थानीय यूवाहरु उत्साहित भएका थिए ।

श्रमदानस्थलमा जिल्ला समितिको तर्फबाट जिल्ला संयोजक जुग्जालीले पदमार्ग निर्माणमा रु. दश हजार रुपैयाँ आर्थिक सहयोग वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवाललाई हस्तान्तरण गरेका थिए । त्यस्तै पाटी तर्फबाट स्थानीय युवाहरुले सुरु गरेको रिसिनचौतारी हुदै सिरुबारी आर्यघाट जाने पदमार्ग निर्माण अभियानमा जूग्जालीले पदर्माग निर्माण अभियानका सदस्य आकाश केसीलाई १० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

श्रमदानमा यूवाहरुको रचनात्मक कार्यबाट उत्साहित भएको बताउँदै मन्त्री जुग्जालीले राज्यको तर्फबाट गर्नुपर्ने काम समुदायको नेतृत्वमा श्रमदान र सहयोग जुटाएर गरेको बताए । निर्माण गरेको पदमार्गको अवलोकन गर्दै पूर्णता दिन प्रदेशबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो ।

श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गरेको पदमार्ग निर्माणका नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष कटुवालले बताए । स्वदेश तथा विदेशमा रहनुभएका राखु भगवतीबासी लगायतले १६ लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् । राखु भगवतीका विभिन्न टोलका आमासमूहले निशुल्क खाजाको ब्यवस्था गरेका छन् ।

करिव एक किलोमिटर पाँच सय मिटर पदमार्ग बनाउन समुदायका युवाहरुले बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काममा श्रमदानमार्फत बेनी– जोमसोम सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेका छन् । आर्थिक सहयोग समुदायले मन खुलाएर गरेपछि ज्यालामा सिपालु हालेर पदमार्ग अभियानालाई निरन्तरता दिइएको छ ।

Leave a Reply