बागलुङमा एकै रात ६ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ६ घरमा सुनसहित पाँच लाख रुपैयाँबराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्रनजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित छन्।

बजारका पाँचवटा पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

रातको दुईदेखि तीन बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट १५ हजार, जलजला होटलबाट १० हजार, मायालु होटलबाट पाँच हजार, कक्षपति स्टोर्सबाट चार हजार रकम चोरी भएको अध्यक्ष अधिकारीले बताए।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उनको भनाइ छ।

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवेयरको सिसी क्यामेरामा एक अर्धवैंसे पुरुष अनुहारमा मुकुन्डो लगाएर झोला बोकेको र पिपिई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसी क्यामराद्वारा घटनाको सूक्ष्म अनुसन्धान गरिने बताए। चोरी भएको ठाउँमा सिभिल प्रहरी खटाइने र सिसी टिभी फुटेज फेला परेकाले त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ। –रासस

Leave a Reply