गतबर्ष असोज–कात्तिक महिनामा म्याग्दीको सदरमुकामस्थित खुल्लामञ्चमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बेनीको खुल्लामञ्चको पूर्वाधार विस्तारमा ४ करोड विनियोजन गर्ने सार्वजनिक रुपमै प्रतिबद्धता जनाएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बजेट नै पठाएनन् ।

मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर सहित पटक–पटक सदस्य सचिव घिसिङलाई भेट्न जाँदा बेनी नगरपालिकाका मेयर सुरत केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा सहितको टोलीलाई समेत समय दिएनन् ।

महिला भलिबलकी राष्ट्रिय टोलीकी कप्तान अरूणा शाही, नेपाल प्रहरी क्लवकी महिला भलिबल कप्तान कमला पुनको जिल्लाको सम्मानका लागि समेत बजेट पठाउने सदस्य सचिप घिसिङले प्रतिबद्धता जनाएको मेयर केसीले बताए ।

सार्वजनिक भाषण र ब्यक्तिगत भेटघाटमा पनि बजेट हाल्ने प्रतिबद्धताले उत्साहित थियौ,‘म्याग्देलीलाई उहाँले धोका दिनुभयो,यसपटक नगरपालिका बाहेक कतैबाट पनि बजेट आएन’ मेयर केसीले भने ।

म्याग्दी जेसीजको मंगलबार साँझ जेसीज सचिवालयमा आयोजित २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा मेयर केसीले नगरपालिकाको बजेटबाट मात्रै मिनी रंगशालाको सपना पूरा नहुने बताए ।

खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने अभियानमा विगत ५ बर्षदेखि संघीय सरकारबाट बजेट आएको छैन भने प्रदेश सरकारको समेत प्राथमिकतामा परेको छैन् । अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।

मिनी रंगशाला बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेको बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

‘विगतमा कनिका छर्केजस्तै बजेट आउने गरेको थियो, अहिले त्यही पनि छैन’ वडा अध्यक्ष श्रेष्ठले भने ।बेनी नगरपालिकाले चालु आवमा विनियोजन गरेको २० लाख बजेटबाट अहिले काम भइरहेको छ ।

अघिल्लो बर्ष बेनीमा आएका गण्डकी प्रदेशका सांसद एवम् पूर्व युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (मनाङ्गे)ले खुल्लामञ्चको बिस्तारका लागि ८ लाख बिनियोजन भएको खवर सुनाएर फर्किएका थिए ।

मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।

खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । खेलमैदान सुधारको अभियान सुरु भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् ।

 

Leave a Reply