म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङको उपल्लो जलजलामा हाई अल्टिच्यूड खेलकुदको सम्भावनााको प्रचारप्रसार गर्न गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ आयोजना गरिएको छ ।

समुन्द्री सतहदेखि करिब ३७ सय मिटर उचाइमा रहेको उक्त स्थानमा विभिन्न खेलकुद गतिविधि सञ्चालनको उच्च सम्भावनाका बारेमा चर्चा र पूर्वाधार विकासमा समेत ध्यानार्कषण गराउने उदेश्यले गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय र ढोरपाटन नगरपालिकाको सहयोगमासेमिनार गरिएको हो ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन भएको सेमिनारमा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा लगायतले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा हाई अल्टिच्यूड खेलकुदका लागि जलजला क्षेत्रलाई ट्रेनिङ सेन्टर बनाउन सकिए गण्डकी प्रदेशकै खेल जगतको गौरव हुने बताइएको थियो ।

सेमिनारमा मार्सल आर्टका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पे सियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको आईटिएफ गण्डकीका सचिव प्रतिक घर्ती मगरले बताए । नेपाल आईटिएफ तेक्वान्दो महासंघका महासचिव तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले यसपटकको सेमिनारले उपल्लो जलजला क्षेत्रको सम्भावनालाई प्रचारप्रसार गरेको बताए ।

पहिलो पटक हाई अल्टिच्यूडमा गरिएको सेमिनारले खेलाडीमा आत्मबल बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत सघाएको बताइएको थियो । नेपालकै एक मात्रै आरक्ष केन्द्र ढोरपाटनको प्रवद्धन र खेलाडीहरुमा विभिन्न प्राविधिक ज्ञान हासिल गर्न सहभागीको भनाई छ ।

उपल्लो जलजलाबाट म्याग्दीमा पर्ने पुथा, चुरे, गुर्जा, धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरी हिमाल लगायतका हिमश्रृंखला सहितको प्राकृतिक दृष्यको समेत अवलोकन गर्न पाइन्छ ।

कार्यक्रममा ढोरपाटन नगरपालिका –९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगर, पूर्व वडाध्यक्ष जीवन पुन, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश आईटीएफका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगर, गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघ तथा बागलुङ जिल्ला आईटीएफका उपाध्यक्ष फारम बहादुर महत, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा तथा रुकुम जिल्ला आईटीएफका अध्यक्ष विजय पुन मगर, गुल्मी जिल्ला आईटीएफका अध्यक्ष विर कुँवरको उपस्थिती रहेको थियो ।

सेमिनारमा नेपाल आईटिएफ टेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा रेफ्रि सह–संयोजक आकाशचन्द्र घर्तीमगर र गण्डकी प्रदेश टेक्वान्दो संघका सदस्य एवं बाग्लुङ जिल्ला आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष फारम बहादुर महतले सहजीकरण गरेका थिए ।

 

 

Leave a Reply