गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गते मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरुसँग छलफल गर्नुभयो ।
पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले विद्यालयको भौतिक, शैक्षिक गतिबिधि, अवस्था र उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।कक्षा १ देखि १० सम्म निशूल्क आवासीय सुविधा सहित अध्यापन गराइने विद्यालयमा हाल २१५ जना नेपालका सबै जिल्ला र भारतका विद्यार्थीहरु छन् ।
नेपाल सरकारद्धारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमपबाट औपचारिक वौद्ध शिक्षा प्रदान गरिने विद्यालयमा विद्यार्थीहरुलाई निःशूल्क शिक्षा, आवास, भोजन, पोशाक लगायतको सुविधा प्रदान गरिएको छ ।
हाल छात्रहरु मात्र रहेको विद्यालयमा समुदायको माग अनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले बताउनुभयो । विद्यालयमा हालै सुविधासम्पन्न तीन सय जना क्षमताको छात्रावास भवन निर्माण भएको छ ।
प्रअ तुलाचनले बेनी–जोमसोम सडकको थापाखोला देखि विद्यालय भवन सम्म पुग्ने सडक स्तरोन्नतिका लागि अनुरोध गर्नुभएको थियो । माननीय मन्त्री जुग्जालीले समुदाय स्तरबाट स्रोत जुटाएर सञ्चालित विद्यालयबाट विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन सहयोग पुगेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयले खाना पकाउन अपनाएको वाष्फीकरण विधिको निरिक्षण पनि गर्नुभयो ।
आगामी आर्थिक वर्षको योजनामा गुम्बासम्म पुग्ने सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्ने माननीय मन्त्री ज्यूले प्रतिवद्धता जनाउनुभयो । सो क्रममा नेकपा (माओवादी केन्द्र)का नेता ङुटुक गुरुङ (मुस्ताङ टाईगर), देवी बानिया लगायत पनि उपस्थित हुनुभएको थियो ।

Leave a Reply