सामान्यतया आफ्नो घरमा गमलामा फूल लगाउने गरिन्छ। तर,म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले आफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल रोप्ने अभियान सुरू गरेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान सुरुवात गरिएको हो।

बिरेन्द्रचोकबासीले घर अगाडीको सडकका छेउ, बिजुलीको पोल र पर्खालमा रङ्करोगन गरी फलामको स्टान्डम राखेर रंगिचंगी फूलसहितका गमला राखेपछि टोलको सौन्दर्य बढेको छ । टोलमा आइतबारदेखि रंगीचंगी फूलका गमलाहरूराख्न सुरू गरिएको टोलका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

‘घरअगाडीको सरकारी कार्यालय आसपासका क्षेत्रमा गमला राखिएको छ,‘टोलको मुहार फेरिँदै गएको छ’अध्यक्ष श्रेष्ठले भने। उनले टोलबासी र गमला राखिएको सरकारी कार्यालयमा कार्यरत कर्मचारीले दैनिक फूलमा पानी हाल्ने र रेखदेख गर्ने बताए । टोलबासीले सदरमुकाममै सफा,स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान सुरू गरेपछि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको पहलमा सरकारी कार्यालय रहेका भवन अगाडीको पर्खालहरू रंगाइएका छन् ।

‘आफ्नो टोल आफैं बनाउने हो,‘टोलबासीको एकताको नमुना अहिलेसम्म गरेका कामहरूबाटै प्रष्ट छ’ टोल विकास संस्थाकी कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठले भनिन् ।

उनले टोलबासीले सधै फूल खरिद गरी गमलामा राख्न सम्भव नभएकाले नजिकै रहेको डिभिजन बन कार्यालयको खेर गएको जमिनलाई सदुपयोग गरी नर्सरी समेत बनाउने योजना रहेको बताईन् । नर्सरीमा सिजन अनुसारको फूललाई उत्पादन गरी टोलबासीले चम्किलो देखाउने बताईन् ।

टोलको चारैतिरको प्रवेशद्धारमा स्वागत सहितको फूलले शोभायमान बनाउने अभियानमा सहयोगको प्रतिबद्धता समेत जनाउने थालिएको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकमा सरकारी संरचनाको पर्खालमा १ सयभन्दा बढी फूलको गमलाले सजाइएको छ ।

उक्त अभियानमा जिल्ला प्रशासन, जिल्ला अदालत, जिसस र अन्य सरकारी कार्यालय अगाडी टोलबासीले राखेको फूलको संरक्षणमा सघाउन समेत सम्बन्धित कार्यालयलाई समेत अनुरोध गरिएको टोल विकास संस्थाका सचिव थमप्रसाद आचार्यले बताए । पिपलको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको थियो ।

बि.स २०७२ सालमा स्थापना भएको टोल विकास संस्थाले दैनिक सरसफाई, ८० बर्ष पूरानो पिपलको बोट संरक्षण, सार्वजनिक खानेपानी, सार्वजनिक ठाउँमा भेटिने बेसहाराको उद्धार लगायतको कार्य गर्ने गरेको छ । टोलको दुई कार्यकाल नेतृत्व गरेका दलप्रसाद श्रेष्ठको कार्यकालमा बेनी नगरपालिकाबाट समेत उत्कृष्ट टोलको सम्मान प्राप्त गरेको थियो ।

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले टोलबासीको एकता र सहकार्यबाट उत्साहित भएको बताए । उनले टोलबासीका अभियानहरूमा वडाबाट आर्थिक, भौतिक र नैतिक सहयोग हुने बताए । टोल विकास समितिले भाडामा बस्ने र घरधनी बिचको सम्बन्धलाई सहज बनाउन सम्मान तथा विदाई समेत गर्ने गरिएको छ ।

 

 

Leave a Reply