बायाँबाट बगेको नलगाड र दायाँबाट बगेको ठुली भेरीको संगमस्थल त्रिवेणीमा लहरै १२ वटा शव राख्न चिता तयार थिए। नलगाड नगरपालिकाभरिका स्थानीय उपमेयर सरिता सिंहसहितलाई श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।

तिहारका लागि साँचिएका फूलका मालाहरू आफन्तहरूलाई अन्तिम श्रद्धाञ्जली दिन स्थानीयले हातहातमा बोकेका थिए। आइतबार दिउँसो भूकम्पमा परेर ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का त्रिवेणी पुगे।

उनले उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरे। केही बेर अघिसम्म शान्त रहेको त्रिवेणीमा कोलाहल सुरु भयो। आफ्ना प्रियजनको बिदाइमा त्रिवेणी पुगेकाहरूका आँखा भिज्न थाले।

‘भूकम्पले नलगाडले उपमेयरसहित ५६ जनालाई लग्यो,’ वडाध्यक्ष बद्री पन्तले भने, ‘उहाँहरू गुमाउँदाको पीडा त छँदैछ, पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरू गुम्दा ठुलो क्षति भएको छ।’

भूकम्प जाँदा उपमेयर जिल्ला सदरमुकाम खलंगा थिइन्। उनले त्यहीँ ज्यान गुमाइन्। श्रद्धाञ्जली र दाहसंस्कारका लागि सिंहलाई नलगाड ल्याइएको थियो। वडाध्यक्ष पन्तका अनुसार भूकम्पमा मृत्यु भएका पालिकाका ५६ जनाकै दाहसंस्कार गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितहरूको उपचार, राहत र पुनःस्थापना सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेहरूलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत सामग्री वितरणको काम सुरू गरिएको बताए।

‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरेर राहत सामग्री पठाएका छौं, केही आउँदैछ,’ उनले भने ‘जसरी भूकम्पमा परेर घाइते भएकाको उद्धार गर्‍याै, त्यहीँ गतिमा तत्काल राहत पुर्‍याउने काममा लाग्छौं।

उपप्रधानमन्त्री खड्काले राहत वितरणको चरण सकिएलगत्तै पुनर्निर्माणको काममा आफूहरू लाग्ने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिइएको बताए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मृत्यु भएका अधिकांशको दाहसंस्कार भइसकेको बताए। आफन्तहरू नजिक नभएकाहरूको बाहेक सबैको अन्तिम संस्कार भइसकेको छ,उनले भने। भूकम्पका कारण जाजरकोटमा हालसम्म १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply