आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
दशैं वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो ।

Adv

झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दशैंको विशेष महत्व रहेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ । चारैतिर हिलोमैलो हराएको छ, सारा नेपालीमा सुखद अनुभूति छाउन थालेको छ । दुःख–कष्ट बिर्सने चाड पनि भएकाले होला, सबैतिर हर्ष र उमंगको वर्षा भएको छ ।

सुन्दर वातावरणसँगै कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । गाउँघरमा पिङ बनाउने र बनेका पिङहरुमा मच्चिने क्रम शुरु भइसकेको छ । विदेश गएकाहरु पनि दशैँ मनाउन घर फर्किन थालेका छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्कने क्रम शुरु भएको छ । घर–आँगन सफा बनाइएको छ, घरका भित्ताहरु रंगीन बनाउन थालिएको छ । के बालबालिका, के युवायुवती, के बूढाबूढी सबैलाई दशैँ पर्वले उमंगित बनाएको छ ।

सर्वत्र उल्लास नै उल्लास छाएको छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैँ मनाउने गरिन्छ । यसलाई सद्भाव र एकताको चाडका रुपमा पनि लिने गरिन्छ । हरेक नेपालीलाई एकाकार गर्ने महान् चाड पनि हो दशैँ । त्यसैले यो चाडसँगै हामीमा रहेका कुत्सित सोचाइ र खराब प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

सत्यको प्रतीकको रुपमा रहेकाले यो चाड मनाउँदै गर्दा सत्यको बाटो अवलम्बन गर्ने बाचा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक जुनसुकै कोणबाट पनि यो चाडको विशेष महत्व रहेको छ । असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा दसैंलाई लिने गरिन्छ । हाम्रो समाजमा अभै पनि अन्याय र अत्याचार व्याप्त छ । अन्यायमाथिको विजय नेपाली जनताले अभैm पनि प्राप्त गर्न सकेका छैनन् ।

नेपाली समाज अझै पनि थिचोमिचो र अन्यायमा पिल्सिन बाध्य छन् । यो अन्याय माथिको विजय प्राप्त गर्न धेरै नेपालीले शहादत प्राप्त गरिसके । समाजभित्र गडेर रहेको अन्यायमाथि विजय प्राप्त गर्न नेपालीले अझै पनि धैर्य गर्नुपर्ने देखिन्छ । यसका लागि नवदुर्गा भवानीले नेतालाई सद्बुद्धि दिउन् र नेपालीहरुलाई धैर्य गर्न सक्ने क्षमता । विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

 

Leave a Reply