न्युनतम सेवा मापदण्ड कार्यक्रममा उत्कृष्ट अंक ल्याउने मालिका गाउँपालिका वडा नं ७ बिम स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । मालिका गाउँपालिका म्याग्दीको स्वास्थ्य शाखाले मालिका गाउँपालिका अन्तर्गत न्युनतम सेवा मापदण्ड को फलोअप कार्यक्रममा उत्कृष्ट अंक ल्याउने स्वास्थ्य चौकीलाई सम्मान गरेको हो । बिम स्वास्थ्य चौकीले मापदण्ड अन्तरगतको सूचकमा ७२ प्रतिशत ल्याएको थियो ।

पालिकाको स्वास्थ्य संस्था प्रमुखहरुको नियमित मासिक बैठकको अवसरमा संस्थालाई सम्मान गरिएको स्वास्थ्य शाखाका तेजेन्द्र रानाले बताए । मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजा र निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम बहादुर कार्कीले खादा, अविर र सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्ष गर्बुजाले स्वास्थ्य संस्थालाई सधै उत्कृष्ट काम गर्न समेत निर्देशन दिए । उनले स्वास्थ्य र शिक्षाको गुणस्तरीय सुधारका लागी गाउँपालिकाले समेत सक्ने सहयोग गर्ने बताए ।

स्वास्थ्य शाखाले स्वास्थ्यको ससर्त कार्यक्रमबाट स्वास्थ्य कार्यालय म्याग्दी र वान हार्ट वर्ल्डवाईडको सहकार्यमा असोज १८ गतेदेखी ३० गतेसम्म मालिका गाउँपालिकाको ६ वटा स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्डको फ्लोअप कार्यक्रम सन्चालन गरेको थियो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको चेकलिस्टमा आधारित रहेर सन्चाल भएको कार्यक्रममा उत्कृष्ट भएको स्वास्थ्य संस्थालाई अझै हौसला दिने र अन्य संस्थालाई पनि कार्य गर्न अभिप्रेरित गर्न सो सम्मान गरिएको हो ।

Leave a Reply