धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैंतिहार । चाडपर्वमा केही नहुनेले सहयोग जुटाएर र कुनै पनि पेशा ब्यवसायमा आवद्ध व्यक्तिले हरेक महिना तलब चाडपर्वको खर्चमा प्रयोग गर्ने गर्दछन् ।

तर,म्याग्दीका एक सामुदायिक विद्यालयका शिक्षकले तीन महिनाको तलब र चाडपर्व भत्ता समेत पाएनन्।  विद्यालयको आन्तरिक विवाद, मुद्धामामिला लगायत विभिन्न विषयमा भइरहेको विवादले रघुगंगा गाउँपालिका वडा नं १ बेगखोलाको महादेव माविका शिक्षक चिरञ्जीविप्रसाद खत्री भने दशैंमा विद्यालयबाट रित्तै घर फर्किएका छन्

विद्यालयभित्रको आन्तरिक विवाद अख्यितारसम्म पु¥याएकोे र समुदायको हित विपरित काम गरेको भन्दै साउन, भदौ, असोज महिनाको तलब र चाडपर्व सुविधा रोकेको शिक्षक खत्रीले बताए।उनले कुल १ लाख ४४ हजार ९२० तलब पाउनुपर्ने बताए । ‘तलबसुविधाका लागि मागफारम पठाउँदा मेरो नाम काटियो,‘बैंकमा बुझ्दा मेरो बाहेक सबैको तलब खातामा गएको देखियो’ खत्रीले भने ।

विगत ७ बर्षदेखि विद्यालयमा कार्यरत शिक्षक खत्रीले  विद्यालयको एक शिक्षकको बारेमा गाउँपालिका र सरकारी निकायमा उजुरी दिएको भने स्वीकार गरे ।विद्यालयमा कार्यरत अन्य शिक्षक, कर्मचारीहरुले तलब थापेको अवस्थामा प्रभ बैंक मौवाफाँटमा समेत बुझ्दा नाम नभएको पाएको बताए ।

‘म गलत भए सजाय भोग्न तयार छु,‘तलब निकासा हुनुपर्छ भनेर गुहार मागेको मात्रै हो’ शिक्षक खत्रीले भने ।यता विद्यालयका प्रधानध्यापक दूध बहादुर गर्बुजाले पेशागत मर्यादा विपरित काम गरेको  बताए ।

‘उहाँका बारेमा धेरै अभिभावकहरूको पनि धेरै गुनासो छ, मेरो ब्यक्तिगत निर्णय होइन,’ प्रअ गर्बुजाले भने । गएको असार असार महिनामा अभिभावक भेलामा पालिकालाई अर्को विद्यालयमा सुरुवा गर्न लिखित अनुरोध समेत गरिएको प्रअ गर्बुजाको भनाई छ ।

गएको असोज २६ गते समेत गाउँपालिकाबाट निकासा भएको तलब र चाडपर्व खर्च शिक्षक खत्री बाहेक सबैलाई उपलब्ध गराउने ब्यवस्थापन समितिको समेत निर्णय भएको बताइएको छ । यता विद्यालयले गाउँपालिकालाई पठाएको माग फारम अनुसार नै तलब निकासी गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताए । उनले आन्तरिक विवाद भएपनि शिक्षकको तलबसुविधा रोक्न नपाइने बताए ।

यूकेमा शिक्षक, तलब पुग्यो विद्यालयमा
विद्यालयकी शिक्षक तारादेवी गर्बुजा तीन महिनाको विदा लिएर यूके पुगेपनि विद्यालयमा भने उनको तलब नियमित जाने गरेको थियो । तारादेवीको ठाउँमा राखिएको सट्टा शिक्षक राखिएपनि दुई महिनामात्रै काम गरेका थिए । तारादेवीको तलबसुविधा त्यहाँ कार्यरत शिक्षकहरूले नै प्रयोग गरेको पाइएको छ । ‘यूकेबाट फर्किन्छु भनेर आउनुभएन, अहिले हामीलाई समस्या पर्यो, विद्यालको हितमै खर्च भएको छ’ प्रअ गर्बूजाले भने ।

उनले शिक्षक गर्बुजालाई लिखित र सामाजिक सञ्जालबाट पटकपटक विद्यालयमा हाजिर वा राजिनामा दिन निर्देशन दिएको समे बताए । शिक्षक गर्बुजाले आउने बताउँदै नआएपछि विद्यालय समस्यमा परेको ब्यवस्थापन समितिका एक सदस्यले समेत बताए ।

३ महिना, ६ महिना भन्दै भाका राखेर आफ्नै विद्यालयलाई समस्यामा पारेको उनको भनाई छ । तलब नपाएका शिक्षक खत्रीले विद्यालयमा नभएकी शिक्षकको तलब निकासीका बारेमा समेत उजुरी दिएपछि गाउँपालिकाले तारादेवीको नाममा निकासी भएको २ लाख ८० हजार ३८१ रुपैयाँ कट्टी गरी तलब पठाएपछि शिक्षक खत्री सहित अन्य स्थायी शिक्षकलाई समेत अपुग भएको विद्यालयले जनाएको छ ।

दशैंको विदा भएपनि अन्य स्रोतबाट शिक्षक खत्री सहितको तलब सुविधा दिने प्रयास गरेको विद्यालयका प्रअ गबुर््जाले जानकारी दिए । उनले यूकेमा रहेकी शिक्षकका बारेमा सार्वजनिक सूचना समेत विद्यालयमा टाँस गरिने र राजिनामा गरी प्रक्रिया थप अगाडी बढाउने विद्यालयले जनाएको छ ।

Leave a Reply