महाभारतको अन्त्यतिर एउटा कथा प्रसंग छ : श्रीकृष्ण सहित यादब वंशका सम्पूर्ण पुरुषहरुको मृत्यू पश्चात तिनका विधवा पत्निहरुलाई अर्जुनले हस्तिनापुर लिएर जानेक्रममा भिल्लहरुले आक्रमण गरी लुटेर लगिदिन्छन । त्यसबखत रक्षाको लागि महारथी अर्जुनको नत गाण्डिव चल्यो नत कुनै दिवास्त्र नै ।

युधिष्ठिरलाई त्यो वृतान्त अवगत भए पछि अब आफुहरुको समय पनि सकिएको बुझेर नातिलाई राजकाज सुम्पि स्वर्गलोक तर्फ प्रस्थान गरेका हुन्छन ।

त्यस्तै गरि नेपाली समाजका चालु प्रबुद्ध पुस्ताको अर्थराजनीतिक स्कुलि∙ वा वैचारिकीको समय सान्दर्भिकता सकिएको आभास प्रष्टदै छ । वि.स. २००७ सालको सेरोफेरोदेखि राज गर्न थालेको त्यो वैचारिकी ढाँचा अझै शताब्दिको उत्तरार्धसम्म पनि जबर्जस्त लतारिने कोशिश गर्दैछ ।

नेपाली अर्थराजनीतिक वैचारिकीका प्रमुख दुई खेमा वा कित्ता छन । एउटा डेमोक्रेटिक उदारवादी ,अर्को कम्यूनिष्ट वा वामपन्थि कित्ता । ति भित्र पनि अनेक उपधार, तह, पत्र, झुण्ड, मुण्डहरु छन । दुवै थरीले आफना आफना सपनाको खेति गर्दै गए, आम जनतामा अपेक्षाको भकारी भर्दै गए । तिनका रंगिन वाचा र नाराहरुको सम्मोहनमा आमजनसमुह वशिभूत हुँदै गयो।

दुवै कित्तावालाहरुको उद्घोषित आर्थिक सामाजिक लक्ष्य, उद्देश्य अन्ततः देश समाज जनताको सुख समृद्धि र विकास नै हो क्या र । शुरुमा राजनैतिक व्यवस्थाको बाटो र आर्थिक रणनीतिको पाटोमा केही भिन्नता थियो । उदारवादीहरुको राजनीतिक बाटो बहुदलीय प्रजातन्त्र, आर्थिक पाटो खुल्ला बजार सहित नीजि स्वामित्वको सुनिश्चितता हो, पश्चिम यूरोप अमेरिकाको जस्तो।

नेपाली वामपन्थिहरुको सैद्धान्तिक बाटो नयाँ जनवाद, समाजवाद, आर्थिक पाटोमा सम्पत्तिमा निजि स्वामित्वको उन्मुलन र केन्द्रिय योजनामा आधारित नियन्त्रित तथा निर्देशित अर्थव्यवस्था आदि र इत्यादि माओकालिन चीन र स्टानिल कालिन सोभियतसंघ जस्तो हो ।भन्नलाई त उदारवादी खेमाले पनि समाजवाद भन्दछ ।

तर त्यो शब्दावली वामपन्थिहरुको लागि पेवा जस्तै बनेको छ । तर शब्द एउटै अर्थ एक नदी दुई किनारा जस्तो लाग्दछ । उदारवादीहरु भन्ने समाजवाद कल्याणकारी पूँजीवाद नै जहाँ नीजि स्वामित्वको सम्बद्र्धन हुन्छ, खुला बजार अर्थतन्त्र नियमन त हुन्छ तर निषेध हुँदैन, त्यसलाई डेमोक्रेटिक सोसलीज्म भनिन्छ ।

तर वामपन्थिहरुको आदर्श समाजवादमा सम्पत्तिमा नीजि स्वामित्वको उन्मुलन र खुल्ला बजार व्यवस्थाको अन्त्य प्राय हुन्छ। जसलाई वैज्ञानिक समाजवाद भन्ने गरिन्छ ।

उदारवादी राजनीतिक र आर्थिक विचार सरल र सामान्य राजनीतिक साक्षरता भएकोले पनि देख्न र बुझ्न सकिने खालको हो । उदारवादी खेमाको अर्थसामाजिक संरचना उल्टाउने नीति नभएता पनि प्रसस्त सुधार गर्न सम्वृद्ध तुल्याउन सक्दथ्यो तर त्यसमा किन सफल हुन सकेको छैन, खासै जस पाउन सकेको छैन ।

त्यसको रहस्य स्वयम खेमावालाहरु राम्रोसँग बुझ्न सकेको देखिदैन । आफुलाई आमुल परिवर्तनकारी दावी गर्ने वामपन्थिहरुले प्रयाप्त अवसर पाउँदा समेत शासन, शैलि र सोच संस्कारमा प्रगतिशिलता देखिएन बरु प्रतिगामी ओरालो झर्न थालेको देखियो ।

राजनैतिक प्रणालीको प्रयोग पनि धेरै भयो विगत पौने शताब्दि भित्र, आधा दर्जन त सम्विधान नै फेरिए । निर्दलीय निरंकुश राजतन्त्रात्मक शासन देखि संघीय लोकतान्तिक गणतन्त्र सम्मको प्रयोग भयो ।

सामन्तवादी राजा महाराजा देखि सर्वहारावादी कम्यूनिष्टहरुसम्म राष्ट्र प्रमुख देखि सरकार प्रमुख सम्म विराजमान भए । आर्थिक रुपान्तरणले स्वभाविक लय लिन सकेन ।

नेपाली समाजको जल, जंगल र जमिनमा आधारित पराम्परागत स्थानीय स्तरमै आत्मनिर्भर प्रकृतिको आर्थिक प्रणाली र जीवनशैलि; आधुनिक शिक्षा, प्रविधि तथा विश्वव्यापिकरणको प्रभावले भत्किएको छ ।

तर आधुनिक ज्ञान र प्रविधिमा आधारित, विश्व समुदाय सँग एकिकृत अर्थतन्त्र सहितको आधुनिक जीवन पद्धति स्थापित हुन सकिरहेको छैन । संक्रमणकालिन समाजलाई सहज अवतरण गराउन दुवै खेमाको नेतृत्ववर्ग असफल भइरहेको छ ।

स्थापित राजनीतिक नेतृत्वका आस्वस्त तुल्याउन सक्ने वैचारिक शस्त्रास्त्र, दिव्यास्त्रहरु अर्जुनका अन्तिम अवस्थामा झैँ नाकाम बनिसकेका छन । समृद्ध नेपालको मुर्त स्वरुप र प्रारुप के हो त्यसमा नै समस्या छ । वास्तवमा समय अनुसार परिकल्पित मानक नै बदलिन्छ ।

काँग्रेसका वैचारिक संस्थापक विपिले न्यूनतम रुपमा पनि एउटा किसान परिवार खान पुग्ने जमिन होस, गोठमा एउटा सम्म गाई होस भन्ने बिम्ब प्रस्तुत गरेका थिए । कम्यूनिष्टहरुले क्रान्तिकारी भूमिसुधार गरी जमिनको न्यायोचित वितरण लगायतबाट आमुल परिवर्तन अभिलाषा राखेका थिए ।

तर अहिले प्रयाप्त घर जग्गा हुनेहरुले नै सबैभन्दा पहिला थात थलो छाड्ने गरेका छन । पारिवारिक स्तरमा आय र व्ययका स्रोत संरचना बदलिएको छ । केही दशक अघिको आदर्श जीवनको मानक यद्यपि कायम रहदैनन।

नेपालका उदार प्रजातन्त्रवादी देखि कट्टर साम्यवादीसम्म, राजावादी देखि गणतन्त्रवादीसम्मले सिद्दान्तका पोकाहरुमा जे सुकै बोके पनि मुखले जेसुकै बोले पनि व्यवहारमा समग्र आर्थिक सामाजिक रुपान्तरणमा भन्दा आफ्ना आसेपासे पोस्ने, क्षणिक जसलिने प्रचारमुखी टुक्रे र खुद्रा तरक्कीहरुमा लटपटिएको देखिन्छ ।

सस्तो लोकप्रियता भन्दा माथि उठेर जिम्मेवार नीति अख्तियार गर्ने आँट गर्न सकेका छैनन । शिर्ष नेताहरु नै बजेट नै नभएका योजनाहरु शिलान्यास र आधा पनि नसकिएका आयोजनाहरु उद्घाटन गर्न हतारिन्छन ।

तीस चालीस बर्ष पहिलाको समयमा नेपालको कुनै गाँउ ठाँउमा एउटा मात्र धारो आउँदा, स्कुल खुल्दा, गोरटो बाटा बन्दा पनि ठुलै तरंग आउने गथ्र्यो ।

तर अहिले मोटरबाटो, विजुली , खानेपानी, स्कुल, टिभि तथा इन्टरनेट केबलको पहँुच, प्राय घरमा शिक्षित, हरेक व्यक्ति साक्षरता जस्ता पुर्वाधारले भरिपूर्ण गाँउ बस्तिहरु किन रित्तिदै छन ? विशुद्ध बेरोजगार मात्र होइन आरामले मासिक लाखौ कमाउनेहरुले समेत विदेश पलाएन हुदैछन ।

दशकौ सम्मको धम्मर्धुस विकासले पनि नेपाल नयाँ पुस्ताको लागि छाड्न लायक मुलुक किन बनिरहेको छ ? सायद कसैसँग यथोचित जवाफ छैन । सबैले आआफै मर्जिका डम्फु बजाईरहेका छन ।

आफना नालायकी प्रति खेद छैन बरु आफुलाई मनमौजी शासन गर्न नदिएकोमा निर्लज्ज रुपमा अरु प्रति दोष थोपारि रहेका हुन्छन । दुवै थरी खेमाका आधिकारिक ठेकेदार ठान्नेहरुको जनमत थाम्ने विस्वासको आधार क्षिण बन्दैछ । हिजो तिनिहरु एकअर्काका विकल्पको रुपमा प्रस्तुत थिए ।

तर अहिले व्यवहारिक नीति र कार्यशैलिमा त्यो भेद मेटिएको छ । दुवै थरीका मतदाताहरु तेश्रो विकल्प तर्फ चियाउन थालेको स्पष्ट भएको छ । प्रमुख पार्टिहरुको नेतृत्व तह बिखलबन्दमा देखिन्छ, प्रचलित वैचारिक अस्त्रहरु काम नलाग्ने भइसकेका छन ।

उनीहरुको चिन्तन सामथ्र्यले विद्यमान अवस्थाको चुनौतिहरुलाई भेद्न र संभावनाहरुलाई देख्न पनि सकेको छैन । तै पनि आफ्ना सोच र विश्वासहरुको प्रयोजन असान्दर्भिक भईसकेको चाल पाउन सकेका छैनन की ? थाहा छैन मुलुकले उनीहरुको सत्ता लिप्साको बोझ कहिले सम्म थाम्न पर्ने हो

Leave a Reply