दसैंका बेला मुस्ताङबाट करिब ८ हजार बढी भेडा च्यांग्रा निकासी हुने भएको छ । यहाँबाट निकासी हुने भेडा च्यांग्रा देशका विभिन्न सहरहरूमा बिक्रीको लागि लैजाने गरिएको हो ।

विशेष गरी भेडा च्यांग्रा खरिद गर्न देशका विभिन्न सहरहरूबाट करिब एक हप्ता अघि देखि नै मुस्ताङ आएका व्यापारीहरू आकर्षक भेडा च्यांग्रा खरिदको लागि व्यस्त देखिएको पाइन्छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले दिएको जानकारीअनुसार यसवर्ष बजारमा स्वस्थ र गुणस्तरीय भेडा च्यांग्राको स्वाद चाख्न पाइनेछ ।

आजभन्दा ४ वर्ष अघि एउटा च्यांग्राको मूल्य २५ हजारदेखि ३० हजार पथ्र्यो भने अहिले त्यही च्यांग्राको मूल्य ४० हजारदेखि ४५ हजारभन्दा बढी पर्ने गरेको छ । कतिपय व्यापारीहरूले भने भेडाच्यांग्रा बिक्रीको लागि ३ दिन अघिबाटै पोखरा लैजान समेत सुरु गरिसकेको छ ।

आजसम्म मात्रै जोमसोमबाट करिब ४ हजार ५ सयभन्दा बढी भेडाच्यांग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले बताए । पछिल्लो समय बजारमा आफूले भनेजस्तो मूल्य नपाउनुका साथै अनावश्यक झन्झटले व्यापारीहरू मार्कामा पर्ने भए तापनि आफ्नो रोजीरोटीको लागि व्यापारलाई अँगाल्नुपरेको व्यापारीहरू बताउँछन् ।

मुस्ताङको हिमाली चरनमा चरेका भेडा च्यांग्रा जाडो सुरु हुनै लाग्दा देशका विभिन्न सहरमा बिक्रीको लागि लैजादा ग्राहकहरूलाई मर्का नपर्ने देखिन्छ । यता भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले गत सालहरूमा भन्दा यस वर्ष भेडाच्यांग्रा खरिद, बिक्री र वितरणमा प्रभावकारिता देखाउने जनाएको छ ।

गत सालहरूमा देखिएको अनियमितता र अपारदर्शिता यस वर्ष नहुने र आवश्यक प्रक्रिया पूरा नगरी मुस्ताङको भेडाच्यांग्रा बिक्रीको लागि नपठाउने समेत केन्द्रले जिकिर गरेको छ । यदि किसान र व्यापारीबीच कुनै प्रकारको समस्या देखिएमा केन्द्रले कुनै पनि सरोकार नराख्ने जनाएको छ ।

हालसम्म जोमसोमबाट निकासी गरिएको भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गरेर निरोगीताको प्रमाणपत्र जारी गरिसकेको छ । यति गरेमा एउटा जिल्लाबाट अर्को जिल्लामा सहजै रुपमा लैजान र बिक्री वितरणसमेत गर्न पाइने पोखरेरले बताए ।४ वर्षअघि एउटा च्यांग्राको मूल्य ३० हजार पथ्र्यो भने अहिले ४५ हजारभन्दा बढी पर्ने गरेको छ

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलका अनुसार गत वर्षभन्दा यस वर्ष केही बढी संख्यामा भेडाच्यांग्रा बिक्री हुने बताएका छन् । मुस्ताङबाट ४ हजार र डोल्पाबाट ४ हजार गरी करिब ८ हजार भेडाच्यांग्रा मुस्ताङबाट निकासी हुने पोखरेलको दाबी छ ।

विगत केही वर्ष यता कोरोनाको महामारीले गर्दा मुस्ताङबाट बजार झर्ने भेडाच्यांग्राको संख्यामा केही तलमाथि भएको समेत उनले बताए । उनले भने,‘यस वर्ष केन्द्रले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै बिक्रीको लागि व्यापारीलाई अनुमति दिनेछौं ।’

यसैगरी मुस्ताङको सदरमुकाम जोमसोम काठेपुलदेखि आवश्यक स्वास्थ्य परीक्षण गराएपछि मात्रै भेडाच्यांग्रालाई बिक्रीको लागि पठाइने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका डा. लालमणि अर्यालले बताए । उनकाअनुसार हाल देशैभरि उन्नत जातका गाईहरू लगायत अन्य पशुहरूमा देखिएको रोग र त्यसको निवारणमा केन्द्र हरपल लागिरहेको कारण पनि भेडाच्यांग्रालाई आवश्यक चेकजाँच तथा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए ।

उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय हुनपर्ने र कुनै समस्या देखिएमा केन्द्रसँग समन्वय गर्ने उनले बताए । च्यांग्रालाई चेकजाँचको क्रममा तत्काल समस्या देखिएमा ती भेडाच्याङ्ग्राको आवश्यक उपचार हुने उनको भनाइ छ । यदि कुनै किसिमको संक्रमण देखिएमा ७२ घन्टाको अल्टिमेटम जारी गरी निगरानीमा राखिने डा. अर्यालले बताए । यदि प्रक्रियागत ढंगबाट काम गर्दागर्दै पनि व्यापारीबाट कतै कमजोरी भएमा केन्द्र जिम्मेवार नहुने अर्याल बताउँछन् ।

विगत लामो समयदेखि भेडाच्यांग्राको व्यापार व्यवसाय गर्दै आएका मुस्ताङको थासाङ गाउँपालिका वडा–३ निवासी प्रवेश शेरचनका अनुसार मूल्य वृद्धि हुनुमा कोरोला नाका नखुल्नुको असर हो । साथै कोभिड–१९ को असरका कारण पनि मूल्य वृद्धि भएको हुन सक्ने उनको भनाइ छ । अहिले देशमा भैरहेको आर्थिक मन्दिले गर्दा पनि सोचेजस्तो लाभ लिन नसकिएला कि भन्ने चिन्ता रहेको शेरचनले बताए ।

उनले भने, ‘डोल्पा हुँदै आउने भेडाच्यांग्राको समेतको तथ्यांक यकिन हुन नसक्दा र व्यापारीहरूबीच एकआपसमा मूल्यमा एकरुपता नहुँदा समस्या झन् बढेको छ ।’ कोरोला नाकाबाट च्यांग्राको आयात नहुनु र दुई जिल्ला डोल्पा र मुस्ताङका भेडाच्यांग्राको मूल्य अत्यधिक हुँदा व्यापारीहरू खरिद बिक्रीमा समस्या देखिएको शेरचनले बताए । यसरी मुस्ताङबाट लगिएका च्यांग्रा बजारमा देखिन थालेपछि दसैंको रौंनक सुरु भएको महसुस हुन थालेको छ ।

Leave a Reply