एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहानसम्म धकेलिएको छ । उम्मेदवारको क्षेत्र निर्धारण मिलाउँदा अबेर भएकाले निर्वाचनका केही कार्यक्रम पर सरेको निर्वाचन समितिले जनाएको छ । यद्यपि, निर्वाचन समितिले मंगलबार साँझबाटै मनोनयन पत्र बितरण सुरु गरेको र बुधबार बिहान ८ बजे मनोनयन पत्र बुझाउने तालिका निर्धारण गरिएको छ ।

एमालेको विधानले १५५ सदस्यीय गण्डकी कार्यसमितिमा युवा, दलित, जनजाति, महिलाको ‘क्लस्टर’ निर्धारण गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव तथा एक महिला उपसचिवसहित पदाधिकारीको संख्या ५ हुनेछ । प्रदेशको खुला सदस्यको संख्या ५८ तोकिएको छ । सो संख्यामा २२ खुला,११ प्रदेश महिला, ५ दलित महिला,एकजना अपाङ्ग र १० सिट युवाको लागि छुट्टयाइएको छ । युवामा पनि ५ जना महिला अनिवार्य हुनुपर्नेछ । यस्तै मजदुर फाँटबाट ३ पद छुट्टयाइएको छ र एकजना महिला हुनैपर्ने व्यवस्था गरिएको छ ।

खुलातर्फकै समावेशीको लागि १३ सदस्य रहने व्यवस्था गरिएको छ । त्यसमा आदिवासी जनजातिको लागि ६ पद छुट्टयाइएको छ भने ३ जना महिला हुनुपर्ने व्यवस्था छ । अल्पसंख्यकको लागि २ खुला राखिएको छ र त्यसमा पनि एकजना महिला हुनैपर्ने व्यवस्था छ । मुस्लिमको लागि एक सदस्य प्रदान गरिएको छ । संघीय निर्वाचन क्षेत्रबाट भूगोलबाट १८ जना सदस्य चुनिने व्यवस्था गरिएको छ ।

जिल्ला भूगोलअन्तर्गत कास्कीबाट ९,गोरखाबाट ५ तनहुँ ६,नवलपुर ७,पर्वत ७, बागलुङ ६, मनाङ २,मुस्ताङ ३, म्याग्दी ४, स्याङ्जा ७ र लमजुङबाट ५ जना सदस्य चुनिने छन् । यसमा महिला, र दलित अनिवार्य गरिएको छ । प्रमुखसहित लेखा समितिका ७ जना पनि यही निर्वाचनले चुन्नेछ ।

यसअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको नेतृत्वका रहेको निर्वाचन कमिटीले मंगलबार मध्यान्न १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने तथा राति ९ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिक तय गरेको थियो । यस्तै बुधबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा दिउसो १ बजेबाट मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचनको अन्य तालिका भने यथावत रहेको आयोगको भनाइ छ ।

सोमबारबाट सुरु भएको अधिवेशनमा सर्वसम्मतिको नारा लगाइए पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारी समूहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

पृथ्वीसुब्बा समूहले अध्यक्ष र सचिवमा हालकै नवराज शर्मा र धनञ्जय दवाडीलाई अगाडि सारेका छन् भने उपाध्यक्षमा मोहन रेग्मी नै दोहोरिने निश्चितजस्तै छ । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीको नाम आएको छ भने पुरषतर्फको उपससचिवको टुंगो लागेको छैन ।

खगराज समूहबाट अध्यक्षमा स्थायी समिति सदस्य मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मि आयार्य,सहसचिवमा म्याग्दीका सन्तोष रावल र महिलातर्फ पोखराकी मीना गुरुङको नाम टुंगिएको स्रोतले बताएको छ । उनीहरुले आन्तरिक रुपमा प्रचार पनि थालिसकेका छन् । निर्वाचन क्षेत्र, भूगोल र खुलातर्फबाट सदस्य हुन चाहनेहरुको पनि दुवै समूहले लिस्ट तयार पार्दैछ ।

Leave a Reply