म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा अध्यक्ष पदमा ददीवल खड्का र मिम पूर्जाको उम्मेदवारी परेको छ । असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा जापानबाट ददीवल खड्का र नेदरल्याण्डका पूर्जाले उम्मेदवारी दर्ता गराएका छन ।

मोनाका अधिकांस पदमा निर्विरोध हुने सम्भावना धेरै भएपनि अध्यक्षमा भने अन्नपूर्ण गाउँपालिका–६ घारका खड्का र मंगला गाउँपालिका–३ बरंजाका पूर्जा बाहेकको उम्मेदवारी परेको छैन् । मोनाका वर्तमान बरिष्ठ उपाध्यक्ष खड्का र निर्वतमान बरिष्ठ उपाध्यक्ष पूर्जाको उम्मेदवारी दर्ता भएपनि सहमतिबाटै नेतृत्व चयनका लागी पहल हुने बताइएको छ ।

जापानका सफल नेपाली ब्यवसायी खड्काले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय रसंगठित मोना बनाउने बताएका छन् भने यूरोपका सफल ब्यवसायी पूर्जाले मोनाको प्रतिष्ठा र गरिमालाई थप उचाईमा पुर्याउन आफ्नो उम्मेदवारी भएको बताए ।

अध्यक्षका प्रत्यासी खड्का र पूर्जाले प्यानल घोषणा नगरी निर्वाचनको मैदानमा उत्रिएपनि महाधिवेशनमा सहभागी हुन आउने करिब १४ देशका प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्ने गरी अभियान सुरु गरेका छन् । ‘मेरो नाममा सर्वसम्मति हुन्छ भन्नेमा विश्वस्त छु,‘मैले मोनाका लागि समय दिने गरी उम्मेदवारी घोषणा गरेको छु’ खड्काले भने ।

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार पूर्जाले अघिल्लो अधिवेशनमा मोनाको सहमति र सहकार्यलाई मजबुद बनाउन आफुँले अध्यक्ष पद छोडेको बताए ।

‘मोनालाई विभाजन हुन नदिन मैले अध्यक्ष पद छोडेको सबैलाई थाहा छ, यसपटक मेरो उम्मेदवारी हुन्छ भने अघिल्लो अधिवेशनमै धेरै थाहा थियो’ पूर्जाले भने । उनले सबल, साझा र एकताबद्ध मोना बनाएर जन्म्भूमि म्याग्दी र कर्मभूमीमा समेत परिणाममुखी काम गर्नुपर्ने अवस्थामा सहमतिबाटै सबै अगाडी बढ्नुपर्ने बताए ।

दुबै अध्यक्षका प्रत्यासी खड्का र पूर्जाले अहिले २८ देशमा मोनाको सञ्जाल भएपनि संसारभरी जुन देशमा म्याग्देली छन् त्यहाँ मोनाको सञ्जाल पुर्याउनुपर्ने बताए । अध्यक्षका प्रत्यासीले मोनामार्फत म्याग्दी जिल्लामा समेत धेरै काम गर्न सकिने भएकाले सामाजिक सँगै मानवीय सेवाका अभियानमा समेत निरन्तर सक्रिय हुने दृढता व्यक्त गरेका छन् ।

मोनाका मुख्य निर्वाचन अधिकृत प्रकाश पुनले प्रवासी म्याग्देलीहरूको एकता र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताए । यसपटक सबै पदमा सहमति टाढा नभएको उनले बताए ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो ।

Leave a Reply