म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा अवस्थित ज्ञानप्रकाश माविले संगीत कक्ष सञ्चालनमा ल्याएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तरगत हरेक दिन साँझ ४ देखि ५ बजेसम्म नियमित संगीत कक्षा सञ्चालन सुरू भएको छ ।

गीतसंगीतमा रुचि राख्ने विद्यार्थी, शिक्षकको सहयोगमा आधारभु्तदेखि मावि तहसम्मका विद्यार्थीलाई कक्षामा सिकाउने गरिएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले बताए । ’सबै विद्यार्थीलाई अनिवार्य गरेका छौ, बजाउने जान्नेले बजाउँछन्, गाउनेले गाउँछन्’ प्रमुख प्रशिक्षक समेत रहेका प्रअ नेपालीले भने ।

तत्काललाई संगीत प्रशिक्षक नहुदाँसम्म प्रअ नेपालीले सिक्ने र सिकाउने बताए । विद्यालयका सबै विद्यार्थीलाई गाउन र बजाउन सिकाउने र सुरिलो स्वर भएकालाई गायकगायिकाको रुपमा उत्पादन गर्ने लक्ष्य समेत रहेको प्रअ नेपालीको भनाई छ ।

‘सङ्गीत अपार चिज हो, पढाइमा मेधावी विद्यार्थीले पनि जीवन जिउने गीतसंगितको आवश्यकता पर्छ’ प्रअ नेपालीले भने । गीतसंगीतमा रुचि राख्ने विद्यार्थीको संख्या बढ्न थालेपछि दशैंतिहारको विदा पछि कक्षा सञ्चालनको तालिका समेत बनाउने बताइएको छ । नमुना विद्यालयमा छनौट भएको ज्ञानप्रकाश माविले करिब २ लाखको लागतमा बाँसुरी, खैजडी, मुजुरा, मादल, हार्मोनियम, किबोर्ड, गितार, सारङ्गी लगायतका बाजा बजाउन खरिद समेत गरिएको छ ।

यसैबीच विद्यार्थीसँगै अभिभावकलाई समेत समेट्ने तयारीमा विद्यालय छ । संगीत कक्षाबाट उत्पादन भएका कलाकारहरूले विद्यालय तथा समुदायस्तरमा समेत प्रस्तुती दिने गरी कार्यक्रम समेत बनाउने विद्यालयले जनाएको छ ।

स्मार्ट कक्षा सञ्चालन गरिरहेको विद्यालयले प्रत्यक्षक शिक्षकलाई ल्यापटप वितरण गरेको छ । म्याग्दीमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाश मावि समेत अग्रणी स्थानमा आउँछ ।

Leave a Reply