बिरामीको उपचारमा संलग्न चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै दोषीलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै बेनी अस्पतालमा कार्यरत चिकित्सहरू आन्दोलनमा उत्रिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताल लगायतका देशका विभिन्न अस्पतालमा स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै बुधबार सदरमुकाम बेनीबजारमा बिरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

एप्रोनमा सजिएर र स्टेथोस्कोप भिरेर आन्दोलनमा निस्किएका चिकित्सकले लगातारको आक्रमणले कार्यक्षेत्रमा असुरक्षित भएपपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बेनी अस्पतालका मेडिकल अधिकृत डा.बिराज आचार्यले बताए।

‘टन्टालपुर घाममा उभिएर आन्दोलन गर्नु बाध्यता हो,‘बिरामीलाई सेवा दिन सुरक्षित महसुस नहुदाँसम्म कार्यक्षेत्रमा फर्किदैनौ’ डा.आचार्यले भने । उनले आन्दोलनका कारण बिरामीलाई पर्न गएको मर्कालाई नजिकबाट हेर्न बाध्य भएपनि इमरेजन्सी सेवालाई जारी राखेको बताए।

बेनी अस्पतालका चिकित्सक, नर्स र कर्मचारी समेत आन्दोलित भएपछि ओपिडी सहितको सेवा प्रभावित बनेको छ । आन्दोलनरत टोलीले विभिन्न नारा सहितको प्ले कार्ड बोकेर जिल्ला प्रशासनमा पुगेका चिकित्सकको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । सोही अवसरमा प्रजिअ पौडेलले म्याग्दीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा तत्काल कारवाही गर्ने प्रतिबद्धता जनाए ।

उनले म्याग्दीमा स्वास्थ्यकर्मीमाथि दुब्र्यवहार भएमा तत्काल कानुन अनुसार कारवाही गरिने बताए ।स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग समेत राखेको बेनी अस्पतालमा मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए ।

उनले विगतका सहमति कार्यान्वयन नहुदाँ आक्रमण नरोकिएको बताउँदै अव कारवाही नहुदाँसम्म आन्दोलन जारी रहने बताए । बेनी अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।

 

Leave a Reply