कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार तथा मोना कतार बहुउद्देश्यीय अक्षयकोष म्याग्दी बेनी र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ‘बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । कतारको सरकारी हमाद हस्पिटलमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रम मोना कतारका अध्यक्ष राजु पौडेलले रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।

कार्यक्रममा मोना कतारका मानार्थ सदस्य प्रो रमजान अलि मियाँ, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयोजना गरिएको रक्तदान कार्यक्रममा २ सय ५ जनाको उपस्थिति रहे पनि ६४ जनाले मात्र रक्तदान गरेको अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले जानकारी दिए ।

रजिष्ट्रेसन गरिएकामध्ये १९ जना रक्तदान गर्नबाट वञ्चित भएका थिए । रक्तदान पुण्यको कार्य भएको र मोनाको कार्य प्रशंसनीय रहेको रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले प्रतिक्रिया दिए ।संघका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजक संस्थाले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

Leave a Reply