कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको आयोजना तथा मोना कतार बहुउद्देश्यीय अक्षयकोष र नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने भएको हो । हमाद हस्पिटलमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा रक्तदानका लागि मोना कतारले सबैलाई आह्वान गरेको छ ।

मोना कतारले कतारमा स्थापित संघसंस्थाका प्रमुख, गैर आवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, कलाकार, साहित्यकार, पत्रकार तथा कतारमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि आग्रह गर्दै बृहत् रक्तदान कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

सनैया एरियाबाट रक्तदान गर्न जान इच्छुक दाताहरूलाई यातायातको व्यवस्था समेत गरिएको हुँदा ३१५९ ६०१४ नम्बरमा रोशन पौडेललाई सम्पर्क गर्न सकिने अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले जानकारी दिए । कार्कीले सबै तयारी सकिएको हुँदा धेरैभन्दा धेरै रक्तदाता उपस्थित हुने विश्वास व्यक्त गरे ।

Leave a Reply