संविधान दिवस–२०८० को पूर्वसन्ध्याको अवसर पारेर गलेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको वैठकको निर्णयअनुसार त्रिदिवसीय कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइने भएकाले सोहीअनुसार मन्दिरमा सरसफाइ गरिएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सम्पन्न जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख र प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले संविधान दिवस मनाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम रचनात्मक कार्यक्रमअन्तर्गत गलेश्वर मन्दिरमा सरसफाइ गरी दिवस मनाउन सुरु भएको छ ।
संविधान दिवस–२०८० लाई नयाँ र सिर्जनात्मक ढङ्गले मनाउने सिलसिलामा निजामति कर्मचारी, जनप्रतिनिधि र सुरक्षा निकायको टोलीको उपस्थितिमा गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाइ गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
उहाँले संविधान दिवसलाई लक्षित गरी मन्दिर तथा कार्यालय परिसरमा सरसफाइ गर्ने, साँझमा कार्यालय तथा घरघरमा दिपावली गर्ने र संविधान दिवसको दिन भोलि (बुधवार) सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको समेत आयोजना गरिएको जानकारी दिनुभयो ।
संविधान दिवसलाई भव्य रुपमा मनाउन सरकारी तथा गैरसरकारी, सामाजिक संघसंस्थाहरुले राष्ट्रिय झण्डा एवं व्यानर बनाएर कार्यालय पसिरमा सजाउन, कार्यालयमा सरसफाइको साथै सर्वसाधारण नागरिकहरुलाई दिपावली गर्न निर्देशन दिइएको छ ।
यसैगरी दिवसको अवसर पारेर स्थानीय सञ्चारमाध्यममार्फत संविधानको महत्वबारे विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन र प्रसारण गर्ने निर्णय गरिएको थियो । संविधानको मर्मअनुसार तीन तहका सरकारले विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउन सरसफाइ, दिपावली र सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
गलेश्वर मन्दिर सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख केसी र प्रजिअ पौडेलसहित केही सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारीले सहभागिता जनाएका थिए ।
गलेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको भन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले धन्यवाद दिनुभयो । २०७२ साल असोज ३ गते संविधासभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहित नेपालको नयाँ संविधान जारी गरेको थियो ।

Leave a Reply