मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा कविता अर्याल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छन् । पोखरामा सोमबार सम्पन्न फेडेरेशनको प्रथम अधिवेशनले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिवेशनले १३ सदस्यिय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष द्वयमा सुष्मा काफ्ले र गणेश पौडेल, महासचिवमा मन नारायण श्रेष्ठ, सचिव द्वयमा शौरभ केसी  र पवित्रा अधिकारी प्रधान, कोषाध्यक्षमा किरण ढकाल र सहकोषाध्यक्षमा गोमा पोख्रेल श्रेष्ठ रहेका छन् । त्यसै गरी कार्यसमितिको सदस्यमा प्रकाश बस्नेत, रण बहादुर घले, साजन पोखरेल, शरद गैह्रे र शिव शर्मा रहेका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदको खेलकुद विकासका लागि सबै संग सहकार्य गर्दै अघि बढ्ने बताए । परिषदले प्रदेशको खेलकुद विकासका लागि संस्थागत विकासमा जोड दिएको बताउँदै उनले भने–“प्रदेशको खेलकुद यति बेला आन्तरिक सुधार संगै खेलकुद संघहरुलाई जवाफदेहिता बनाउने गरि अघि बढेका छौं । खेलकुदको विकास तल्लो तहबाट विकास गर्न खेलकुद संघहरुको संस्थागत विकास अहिले महत्वपूर्ण हो ।”

परिषदले खेलाडीहरुको मर्यादाक्रमलाई समेत पहिचान दिलाउन खेलकुद पदकजस्ता महत्वपूर्ण कार्यक्रमहरु अघि सारेको उल्लेख गर्दै सदस्य सचिव शर्माले प्रशिक्षक र निर्णायहहरुलाई समेत सूचिकृत गरि उनीहरुको विमा गर्ने संगै आवश्यक प्रशिक्षणका कार्यक्रमहरु समेत तय गरिने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल मोर्डन पेन्टाथलन फेडेरेशनका अध्यक्ष राजेन्द्र श्रेष्ठले गण्डकी प्रदेश पेन्टाथलन खेलका लागि सम्भावना भएको प्रदेशको रुपमा रहेको बताउँदै खेलकुदलाई समयानुकुल बनाउँदै गर्नुपर्ने बताए । खेलकुदमा योगदान दिनेहरुको सम्मान राज्यले दिन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने–“खेलकुदमा समायनुकुल परिवर्तन आवश्यक छ जसबाट खेलकुद विकास संगै स्वस्थ्य नागरिक उत्पादनमा समेत रहयोग पुग्न सकोस ।”

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, नेपाल मोर्डन पेन्टाथलन फेडेरेशनका केन्द्रिय महासचिव यादव बहादुर बस्नेत लगायतले नेपालको पेन्टाथलन खेलको इतिहास लामो नभएपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै सम्भावना भएको खेल रहेकोले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए । सम्पन्न अधिवेशनले संंघको गण्डकी प्रदेशको विधान पारित समेत गरेको छ ।

Leave a Reply