रोजगारीका लागि विदेश जानै पर्छ भन्ने मान्यता आम नेपालीहरुमा हुने गरेको छ । तर आफ्नै क्षेत्रमा आफैले व्यवसाय गरे पनि उल्लेख्य रुपमा प्रगति गर्न सकिने उदाहरण बन्नुभएको छ एक जना महिला उद्यमी । हिमाली जिल्ला म्याग्दीको बेनीमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएकी महिला उद्यमी डिलमायाँ घताने गुरुङ एउटा गतिलो उदाहरण हुनुहुन्छ । बेनी बजारको बैंकरोडको गणेशटोलमा रहेको नमुना ढाका उद्योगबाटै उहाँ सन्तुष्ट हुनुहुन्छ ।

पहिला सामान्य बुनाईबाट सुरु भएको दिलमायाँको ब्यवसाय अहिले सारी, शल, विवाहमा लगाइने विशेष पहिरन, कुसनको खोल, झेला र जुत्ता समेत उत्पादन हुन्छ । उहाँले ग्राहकको चाहना अनुसारको डिजाइनमा ढाकाका बुट्टा र रङ मा पहिरन बनाउने भएकाले पनि नियमित ग्राहकबाटै प्रसस्तै आम्दानी भइरहेको छ ।

स्याङ्जा जिल्लामा जन्मनुभएकी घतानेले पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ ओखरबोट विवाह गर्नु भएको हो । उहाँले बेनी नगरपालिका–८ बैंकरोडमा सञ्चालन गरेको ढाका उद्योगमा अहिले छ जना कार्यरत रहेका छन् । २०६४ सालमा हाते कपडा बुनाइ तालिम लिएपछि डिलमायाँले सुरु गर्नुभएको म्याग्दी ढाका उद्योगमा हाल ढाकाको काम गर्ने तीन जना झोला बुन्ने एक जना स्वेटर बुन्ने एक जना र आफू गरी छ जनाले रोजगार पाएको उहाँले बताउनुभयो । हामी सबैले मेहनत गर्छौं र सबैले आफ्नो व्यवसायमा सन्तुष्ट पनि छौं ।

पूर्ण रुपमा स्थानीय अनि हातैले बुनेर हुने उत्पादनबाट काम गर्नेहरु पनि सन्तुष्ट छन् डिलमायाँको अनुभव छ। उहाँ भन्नुहुन्छ काम गर्नेहरु सबैले न्यूनतम १८ देखि अधिकतम २५ हजार सम्म मासिक आम्दानी गर्नुहुन्छ । उहाँहरुले आफूले गरेको कामका आधारमा पारिश्रमिक पाउने भएकाले यती नै भन्ने फिक्स हुँदैन तर १८ हजार भन्दा कम हुदैन र अहिले सम्म हेर्दा २५ हजार भन्दा बढी आम्दानी पनि गर्नुभएको छैन ।

हाल मागको आधारमा उत्पादन गर्ने काम भै रहेको उहाँको भनाई छ । राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकी उहाँको म्याग्दी ढाका उद्योगबाट ढाकाको स्वेटर, झोला, राडी, पाखी, अल्लोको कपडा, उनीको झोला उत्पादन हुने गरेको छ ।

महिला तथा पुरुषहरुले प्रयोग गर्ने पर्स, हाते झोलाको माग उच्च हुने उहाँको भनाई छ । नेपालको धेरै स्थानमा गएर झोला तथा कपडा बुनाइ तालिम समेत दिनेगर्नु भएकी घतानेले अहिले भने आफ्नै व्यवसायमा सन्तुष्ट रहेको बताउनुहुन्छ । एक छोरा र एक छोरीकी आमा उहाँले सन्तान हुर्काउने बढाउने पनि यही पेशाबाटै गरेको सुनाउनुहुन्छ ।

बिगतको तीतो अनुभवले नै स्वरोजगार मात्रै नभएर राम्रो व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको उहाँको भनाई छ । आर्थिक वर्ष २०६४÷०६५ मा तालिममा सहभागी भएको समयमा तालिमकी प्रशिक्षक नवलपरासीकी बुद्धिमायाँ सुनारले आफुले तालिममा सिक्न अल्छी गरेको भनेर सबैले सुन्ने गरी भनेको इखले आफूलाई व्यवसायी बनाएको डीलमायाँको बुझाई छ ।

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समिति म्याग्दीकी कोषाध्यक्ष समेत रहनुभएकी डिलकुमारीले उत्पादन गरेका सामग्रीको राम्रो बजार पाएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ ।

उत्पादनले बजार नपाएको भन्ने छैन, यदी बजार पाएन भने पनि उद्योग बाणिज्य संघले उचित व्यवस्थापन गर्नेछ उहाँले भन्नुभयो ।स्थानीय उत्पादनलाइ नै मुख्य व्यवसाय बनाउनु भएकी उहाँले म्याग्दी कारागारका कैदी बन्दीले उत्पादन गरेका मुडाको पनि बिक्री गर्ने गर्नुभएको छ । बागलुङ तथा म्याग्दी कारागारबाट ल्याएका मुडाको पनि राम्रै विक्री वितरण हुने गरेको उहाँको भनाई छ ।

 

Leave a Reply