शनिवार रातिदेखि अबरुद्ध कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडक अझै संचालन हुन नसक्दा बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनी फर्कने यात्रु र यातायातका साधनहरु बिच बाटोमा नै रोकिएका छन् । शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक,तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कदै गर्नुभएका कृष्ण शर्माले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका –१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको उहाँले बताउनुभएको छ ।

“माथिबाट खसेको पहिरोले सडक अवरुद्ध छ,सवारी साधन सडकमै लाइन लागेका छन् भने यात्रुहरु बाटो छेउका होटल र घरहरुमा बसेका छन्,अहिले पनि वर्षा भइरहेकोले निरन्तररुपमा पहिरो खसिरहेको छ” उहाँले भन्नुभयो । सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन पनि जोखीम भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले बताउनुभयो।“वर्षा भइरहेकोले पहिरो पन्छ्याउन समस्या भएको छ, हिजो रातिदेखि नै सडक अवरुद्ध भएको हो, आज खुल्ने सम्भावना न्यून छ” प्रनाउ कुवँरले भन्नुभयो । यसैगरी लगातारको वर्षाले पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।

Leave a Reply