सरकारले सिंहदरवार परिसरभित्र रहेको पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलकै अवस्थामा निर्माण गर्ने भएको छ।

यसअघि पुरानो संसद भवनलाई भत्काउने कि मर्मत सम्भार गरी पहिलेकै अवस्थामा बनाउने भन्ने विषयमा विभिन्न समयमा विभिन्न निर्णय गरिएका थिए। तर पछिल्लो समय सहरी विकास मन्त्रालयले पुरानो संसद भवन पुरातत्वीक महत्वको र एैतिहासिक भएकाले यसलाई नभत्काएर पुरानै अवस्थामा फर्काउने निर्णय गरेको छ।

सहरी विकासमन्त्री सिता गुरुङले मंगलबार पुरानो संसद भवनको अवलोकन गरेकी थिइन्। अवलोकन पछि उनले पुरानो संसद भवनलाई मर्मत तथा रिट्रोफिट (पुननिर्माण) गरी पहिलेकै अवस्थामा बनाउन मन्त्रालय मातहतमा रहेको विशेष भवन निर्माण आयोजनालाई निर्देशन दिएकी छिन्।

विशेष भवन निर्माण आयोजनका प्रमुख मच्चाकाजी महर्जनका अनुसार पुरानो भवनलाई मर्मत सम्भार गरी पुननिर्माण गर्न (रिट्रोफिट) गर्न आयोजनाले अहिले डिजाइन बनाइरहेको बताए। ‘डिजाइन सकिने वित्तिकै हामीले काम सुरु गर्छौ। सम्भवत असोज/कात्तिक महिनामा टेण्डर आब्हान गरी काम अघि बढाउने छौ’उनले भने। महर्जनका अनुसार पुरानो संसद भवनलाई मर्मत सम्भार गरी दुरुस्तै पहिलकै अवस्थामा बनाउन सहरीले विशेष भवन आयोजनालाई निर्देशन दिएको छ।

पुरानो संसद भवन राणाकालमा निर्माण गरिएको थियो। २०७२ सालको भुकम्पले यसलाई क्षति पु¥याएको छ। २०१५सालमा नेपालमा संसद्को पहिलो बैठक यही भवनमा बसेको थियो। २०६४सम्म पुरानो संसद भवनमै संसदको बैठक बसेको थियो। त्यसपछि यो भवन अपुग भए पछि नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गर्न थालिएको छ।

Leave a Reply