गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरण सम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली गोप्य रुपमा सेवाग्राही बनी अनुगमन गर्नुभएको हो । सेवाग्राहीसँगै लाइनमा बस्नुभएका मन्त्री जुग्जालीले उनिहरुका गुनासा र सुझाव सुन्नुभयो । सवारी चालक अनुमतिपत्रको लागि ट्रायल सेन्टरको पनि अनुगमन गर्नुभएको थियो ।

यसअघि गत जेठ महिनामा पनि मन्त्री जुग्जालीले यातायात कार्यालयहरुको अनुगमन गरेर सुधारका लागि सम्बद्ध कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । सवारी साधनको दर्ता तथा नविकरण सम्बन्धी कार्यालयमा पहिलेको तुलनामा सेवाग्राहीहरुले कम समय लाइन बस्नुपरेको र छिटो सेवा पाएको प्रतिक्रिया दिएका थिए ।

ट्रायल परिक्षा बिहान ८ बजेदेखिनै सञ्चालन गर्न थालिएको छ । सवारी चालक अनुमतिपत्रको नविकरणका लागि अनलाइनबाटै शूल्क तिर्ने व्यवस्था मिलाइएको छ ।

मन्त्री जुग्जालीले यसअघि दिएको निर्देशन कार्यान्वयन भए नभएको, सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको बताउनुभयो ।

यातायात कार्यालयका प्रमुखहरु डिल्लीराम रिजाल र जितेन्द्र केसीले सेवाग्राहीलाई बाह्य तेस्रो व्यक्तिको सहयोग बिनै छिटो, छरितो र सहज रुपमा सेवा उपलब्ध गराउने प्रयास गरेको बताउनुभयो । दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएका कार्यालय प्रमुखहरुको भनाई थियो ।

 

यातायात कार्यालयहरुमा छिट्टै थप जनशक्तिको व्यवस्थापन र पोखराको ट्रायल सेन्टरमा सेवाग्राहीको चाप घटाउन बाग्लुङमा चार पाङ्ग्रेको सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा सञ्चालन गर्ने तयारी भएको मन्त्री जुग्जालीले बताउनुभयो ।

प्रविधिको प्रयोग गरेर यातायात कार्यालयको सेवालाई सहज बनाउने विषयमा हालै काठमाडौमा भएको संघीय र प्रदेशका यातायात मन्त्रीहरुको बैठकले निर्णय गरेको छ ।

 

Leave a Reply